सुदूरपश्चिमका मुख्यमन्त्रीको दाबी– प्रदेश सरकार पाँचै वर्ष टिक्छ, मध्यावधि हल्ला मात्रै

कञ्चनपुर, फागुन ८ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकारले विश्वासको मत पाएर पाँच वर्ष चल्ने बताएका छन् ।सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उनले विभिन्न प्रकारका अफवाह फैलाउने काम भइरहेको बताए ।
‘सबैसँग सहकार्य गरेर खुल्ला छलफल भइरहेको छ । चाँडै नै हामी टुङगोमा पुग्छौ”, प्रदेश मध्यावधि निर्वाचनमा नजाने बताउनुहुँदै उनले संविधानले दिएको जिम्मेवारी पूरा हुने प्रष्ट पारे । उनले जनताको भावनाअनुसार नै आफू नेतृत्वको सरकार अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्को पहिलो बैठकबाट भ्रष्टाचार नियन्त्रणका लागि प्रादेशिक कार्य तर्जुमा समिति गठन गरी काम अघि बढिरहेको उनको भनाइ छ । उहाँले प्रदेशको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी सिर्जनामा सरकार केन्द्रित रहने बताए ।
मुख्यमन्त्री शाह पुस २६ गते सो पदमा नियुक्त भएका थिए । उनले अहिलेसम्म विश्वासको मत लिएका छैनन् । कूल ५३ प्रदेशसभा सदस्य रहेको सुदूर पश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर सत्तारुढ पक्षसँग अहिले २३ सांसद छन्।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










