राष्ट्रपतिमा सघाउन प्रचण्डसँग कांग्रेसको प्रस्ताव
कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहित शीर्ष नेता आइतबार बेलुकी बालुवाटार पुगेर राष्ट्रपतिमा कांग्रेसले उठाउने उम्मेदवारलाई माओवादीबाट सहयोग गर्न प्रस्ताव गरेका हुन्।
काठमाडौं, फागुन ८ : नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा मिलेर जान नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रस्ताव गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहित शीर्ष नेता आइतबार बेलुकी बालुवाटार पुगेर राष्ट्रपतिमा कांग्रेसले उठाउने उम्मेदवारलाई माओवादीबाट सहयोग गर्न प्रस्ताव गरेका हुन्।
गत पुस २६ गते प्रधानमन्त्रीमा दाहाललाई विश्वासको मत दिएपछि कांग्रेसका नेताहरू प्रधानमन्त्री दाहालसँग भेटघाटलाई तीव्रता दिइरहेका छन्।
को पहिले प्रधानमन्त्री बन्ने भन्नेमा सहमति नहुँदा चुनावका बेलाको गठबन्धन भत्केको थियो। माओवादी अध्यक्ष दाहाल एमालेसहित ७ दलको समर्थनमा गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए।
कांग्रेसले कसलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय भने गरिसकेको छैन। नेता रामचन्द्र पौडेल वा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलामध्ये एक जनालाई राष्ट्रपति उम्मेदवार बनाउने तयारी छ।
कांग्रेसले राष्ट्रपति निर्वाचनमा सहयोगको औपचारिक प्रस्ताव राखेका बेला माओवादी पदाधिकारी बैठक बस्दैछ।
सोमबार अपरान्ह ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बस्ने र उक्त बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल गर्ने तयारी छ।
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटार र बालकोटमा पछिल्ला समय भएका भेटवार्तामा राष्ट्रपति निर्वाचनबारे नै छलफल भए पनि कसलाई उम्मेदवार बनाउनेजस्ता विषयमा सहमति हुन सकिरहेको छैन।
यही फागुन १३ गते राष्ट्रपतिका लागि मनोनयन दर्ता गर्नुपर्ने तालिका छ। राष्ट्रपति निर्वाचन भने फागुन २५ गतेका लागि तोकिएको छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










