Kathmandu Press

अहिलेको सत्ता गठबन्धन राष्ट्रपतिको निर्वाचनपछि भत्किन्छ : अध्यक्ष नेपाल

उनले संविधान विरोधीदेखि संविधानको संरक्षक एकै ठाउँमा रहेका कारण त्यो गठबन्धन धेरै समय टिक्न नसक्ने बताए ।
अहिलेको सत्ता गठबन्धन राष्ट्रपतिको निर्वाचनपछि भत्किन्छ : अध्यक्ष नेपाल

काठमाडौं, फागुन ७ : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धनको आयु राष्ट्रपतिको निर्वाचनसम्म मात्रै रहेको ठोकुवा गरेका छन् । आइतबार अनेरास्ववियुको स्थायी कमिटीको दोस्रो बैठकको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले वर्तमान गठबन्धन कुन दिन भत्किन्छ भन्ने टुंगो नभएको बताएका हुन् ।

उनले संविधान विरोधीदेखि संविधानको संरक्षक एकै ठाउँमा रहेका कारण त्यो गठबन्धन धेरै समय टिक्न नसक्ने बताए । राष्ट्रपतिको निर्वाचनबाटै सत्ता गठबन्धनको भविष्य टुंगो लाग्ने दाबी गरे । 

उनले सबै पद आफैंले लिएर मुलुकमा राजनीतिक एकाधिकार कायम गर्न खोज्ने एमाले हावी हुने हो वा होइन भन्ने कुरा पनि राष्ट्रपति निर्वाचनपछि मात्रै भन्न सकिने बताए । त्यसका लागि अव एक हप्ता मात्रै पर्खे पुग्ने उनले बताए। 

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा कांग्रेस र एकीकृत समाजवादीको सहयोग लिएर गठबन्धन भत्काउलान् कि भन्ने चिन्ता छाएको पनि बताए। 

अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो नै भएको टिप्पणी गरे । के–के न गरौंला भनेर आएको सो पार्टीमा पनि पदको आशक्ति बाहेक अरु केही पनि नदेखिएको उनले आरोप लगाए ।

अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै मुलुकमा फेरि मण्डलेहरु जाग्न लागेको बताए । उनले पूर्वराजा शाहलाई सहभागी गराएर अभियान चलाउने पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई अझै एमालेले कारबाही गर्न नसक्नु कम्युनिष्ट पार्टीका लागि लाजमर्दो विषय भएको तर्क समेत गरे ।

 
 

प्रकाशित मिति: १५:०८ बजे, आइतबार, फागुन ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्