राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ त्यसमै सबैकाे सहमति हुनुपर्छ : ओली
'राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनपर्ने कुरा सही हो । हामीले उम्मेदवार उठाउँछौं, त्यसमै सबैको सहमति हुनुपर्छ।’
काठमाडौं, फागुन ७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका लागि एमालेले उठाएको उम्मेदवारमा नै राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् ।
आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा ओलीले एमाले पनि राष्ट्रपतिमा सबैको सहमति हुनुपर्छ भन्ने पक्षमा रहेको र एमालेले उठाएको व्यक्तिलाई समर्थन गर्नुपर्ने बताएका हुन् ।
'राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनपर्ने कुरा सही हो । हामीले उम्मेदवार उठाउँछौं, त्यसमै सबैको सहमति हुनुपर्छ,’ ओलीले भने ।
उनले एमालेले राष्ट्रपति पाउने कुरा अगाडि नै तय भइसकेको बताएका छन् ।‘राष्ट्रपति को हुने भनेर पहिला नै तय छ । अहिलेको समिकरण जन्मँदै त्यसको जन्मकुन्डलीमै लेखेर आएको उति बेलै,’ उनले भने ।
माओवादी केन्द्रका पदाधिकारीहरुले पछिल्लो समय राष्ट्रपतिको विषयमा कुनैपनि सहमति भएको कुरा आफूहरुलाई थाहा नभएको बताउँदै आएका छन् । यसमा अध्यक्ष ओलीले जोसँग सहमति गर्नुपर्ने हो उसँग सहमति भएको बताए । ‘सबैसँग त कहाँ सहमति हुन्छ । माओवादी कार्यकर्ता सबैसँग सहमति गर्दै हिँडेर हुन्छ त ?,’ उनले प्रश्न गरे।
अध्यक्ष अोलीले एमालेले उठाउने राष्ट्रपतिको उम्मेदवारमा नेकपा माओवादी केन्द्रले पनि समर्थन गर्ने विश्वास व्यक्त गरे । उम्मेदवारको नाम भने फागुन १३ गते नै सार्वजनिक गरिने उनले बताए ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










