वरिपरि दुई चारजना मान्छे देखेर ज्ञानेन्द्र शाह जोस्सिए : ओली
पुरानो झल्को उहाँलाई आइराख्छ । त्यो झल्काले दुईचार जना मान्टे वरिपरी देख्यो भने अलिअलि जोस्याउँछ । त्यति मात्र हो अरु केही होइन : ओली
काठमाडौं, फागुन ७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिपरी दुईचार जना मान्छे देख्दा पूर्वराजा ज्ञानेन्द्र शाह जोसिएको बताएका छन् ।
आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले ज्ञानेन्द्रलाई अहिले पनि पुरानै झल्को आइरहेको बताए। त्यही झल्को र वरिपरी दुइचार जना मान्छे देख्ना अलिअलि जोस आएको ओलीले टिप्पणी गरे ।
‘पुरानो झल्को उहाँलाई आइराख्छ । त्यो झल्काले दुईचार जना मान्टे वरिपरी देख्यो भने अलिअलि जोस्याउँछ । त्यति मात्र हो अरु केही होइन,’ ओलीले भने ।
उनले देशमा २४० वर्षे जहानीया शासनको अन्त्य भएको १५ वर्षमात्रै भएकाले यसअवधिमा केही कुरा मिलेको र कतिपय मिल्दै जाने बताए। ‘ १५ वर्ष अगाडिसम्म त २४० वर्षभन्दा बढी उहाँहरुले नै चलाएको होइन ? के बनाउनुभएको थियो उहाँहरुले ? कहाँ पुर्याउनुभएको थियो देश ?,’ ओलीले प्रश्न गरे ।
उनले ज्ञानेन्द्र शाहसँग सहकार्यको औचित्य नरहेको पनि बताए । ‘उहाँसँग के कुरामा सहकार्य गर्ने,’ ओलीले भने, ‘उहाँ आफ्नो बाटोमा हिँडिरहनुभएको छ । मेची पुलमा दियो बाल्नु भयो क्यारे ।’
प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले विज्ञप्ति जारी गर्दै आफू चुप लागेर नबस्ने बताएका थिए । उनले सबै राजनीतिक दलहरुलाई सहकार्यका लागि आह्वान समेत गरेका थिए ।
सोही विज्ञप्तिको खण्डन गर्दै ओलीले अब त्यस्तो सहकार्यको औचित्य नरहेको बताएका हुन् ।
केही दिनअघि एमालेकै केन्द्रीय समिति सदस्य रहेका दुर्गा प्रसाईँले ज्ञानेन्द्र र पारसलाई उभ्याएर मेची महाकाली अभियानको सुरु गरेका थिए । सो विषयमा उनलाई एमालेले कार्बाही गर्छ कि गर्दैन भन्ने पत्रकारको प्रश्नमा भने अध्यक्ष ओली केही भड्किए ।‘उहाँलाई कारबाही गर्ने विषयमा तपाईँहरुलाई किन चिन्ता लागेको ?पानीले आफ्नो लेबल मिलाउँदै जान्छ,’ उनले भने ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










