Kathmandu Press

‘सबै दलले समर्थन गर्ने व्यक्तिलाई राष्ट्रपति बनाउने माओवादीको अडान हो’

संविधान र गणतन्त्र स्वीकार नगरेकाले पूर्वराजा ज्ञानेन्द्रसँग कुनै सहकार्यको औचित्य छैन :  महासचिव गुरूङ
‘सबै दलले समर्थन गर्ने व्यक्तिलाई राष्ट्रपति बनाउने माओवादीको अडान हो’

काठमाडौं, फागुन ७ : नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सबै राजनीतिक दलहरुले समर्थन गर्न सक्ने व्यक्ति नै राष्ट्रपति बन्नपर्नेमा जोड दिएका छन् । 

आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुरुङले राष्ट्रिय अस्मितामाथि खतरा हुनसक्ने, अराजकता र अस्थिरता निम्तिन सक्ने र त्यसले संविधान र राष्ट्रियतामाथि नै संकट आउन सक्ने कुरालाई मध्यनजर गरेर नै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने बताएका हुन् । 

उनले गणतन्त्र, संविधानको संरक्षक, परिवर्तनलाई आत्मसाथ गर्नसक्ने र सबैले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउने नै माओवादी केन्द्रको अडान रहेको बताए । ‘राष्ट्रियताको रक्षका लागि राष्ट्रपति साझा बनाउन पर्छ । त्यसो गर्न सकेनौं भने मुलुकको अस्मितामाथि गम्भीर संकट सिर्जना हुन्छ,’  महासचिव गुरुङले भने ।

प्रधानमन्त्रीलाई ९९ प्रतिशत सांसदको समर्थन रहेको बताउँदै महासचिव गुरुङले राष्ट्रपतिमा पनि सहमति हुन नसक्ने अवस्था नरहेको बताए । 

उनले पूर्वराजा ज्ञानेन्द्रको विज्ञप्ति औचित्यहीन भएको पनि बताए । ज्ञानेन्द्रले जारी गरेको विज्ञप्तिमा दलहरुलाई सहकार्यको प्रस्ताव गरिएको थियो । महासचिव गुरुङले संविधान र गणतन्त्र स्वीकार नगर्ने व्यक्तिसँग कुनैपनि सहकार्यको औचित्य नरहेको बताए ।

‘पूर्वराजा ज्ञानेन्द्रसँग कुन मुद्दामा सहकार्य गर्ने ? देशमा संविधान, गणतन्त्र स्थापना भइसकेको छ । लोकतन्त्र र संविधानको रक्षा गर्न सहकार्य हुन्छ,’ उनले भने, ‘तर उहाँहरूले संविधान र गणतन्त्र स्वीकार नगरेकाले पूर्वराजा ज्ञानेन्द्रसँग कुनै सहकार्यको औचित्य छैन ।’  

प्रकाशित मिति: १३:०९ बजे, आइतबार, फागुन ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्