आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनुपर्छ : राष्ट्रपति भण्डारी
उनले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइमा हार्दिक शुभकामना व्यक्त गर्दै वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त हुँदै आएको सहिदको सपना एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्ने उल्लेख गरेकी हुन् ।
काठमाडौं, फागुन ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताएकी छिन् ।
उनले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइमा हार्दिक शुभकामना व्यक्त गर्दै वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त हुँदै आएको सहिदको सपना एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्ने उल्लेख गरेकी हुन् ।
“हामीले हासिल गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाट नै निर्माण भएको हो, तसर्थ सहिदको सपना एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्दछ, त्यसका लागि हामीले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनु पर्दछ”, राष्ट्रपतिको सन्देशमा भनिएको छ ।
प्रजातन्त्र दिवसको पृष्ठभूमिमा २००७ सालभन्दा अघि भएका आन्दोलनहरूको भूमिका अभिन्नरूपले जोडिएको र विसं १९९७ मा प्रजापरिषद्को अगुवाइमा भएको आन्दोलनको क्रममा महान् सहिदहरू गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दको सहादत भएको विषय उनले सन्देशमा उल्लेख गरेकी छिन् ।
“सहिदहरूको उच्च बलिदानले वर्तमान समयसम्मका हाम्रा राजनीतिक एवं सामाजिक सुधारका आन्दोलनहरूलाई प्रेरणा दिएको छ भने भविष्यमा पनि उहाँहरूको सहादतले हामीलाई मार्गदर्शन गरिरहने छ”, राष्ट्रपति भण्डारीको सन्देशमा भनिएको छ, “यस कारण प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्व स्थायी बनाउनुका साथै सहिदको अमर गाथा पनि सदैव स्मरण गराउँछ ।”
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










