सरकारलाई पूर्वमन्त्री बस्नेतको चेतावनी- ज्ञानेन्द्र शाह आज कहाँ पुगे, त्यसको हेक्का होस्
काठमाडौं, पुस २५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चारमन्त्री मोहन बहादुर बस्नेतले सरकारले सूचना प्रविधि विधेय....

काठमाडौं, पुस २५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चारमन्त्री मोहन बहादुर बस्नेतले सरकारले सूचना प्रविधि विधेयक आफ्नो ठूला–ठूला भ्रष्टाचार काण्ड जनताले थाहा नपाउन भन्नका लागि ल्याउन लागेको आरोप लगाएका छन्।
काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा उनले वर्तमान सरकारका कारण लोकतान्त्रिक व्यवस्था नै संकटमा परेको बताए। बस्नेतले सूचना प्रविधि विधेयक हुबहु पास भए नेपालका सबै पार्टी कार्यालयमा ताल्चा लगाउनुपर्ने अवस्था आउनेपनि खतरा औंल्याए।
उनले प्रधानमन्त्री केपी शर्मा ओली फ्रान्सका लुईस १४ जस्तै ‘आई एम द स्टेट’ को बाटोमा अघि बढ्न खोजेको पनि आरोप लगाए। तर, अहिलेका शासकहरुले जतिसुकै ठूला कुरा गरेपनि वा लोकतान्त्रिक विरोधी गतिविधि गर्न खोजेपनि जनताले उनीहरुलाई तह लगाएरै छोड्ने उनले बताए।
तर, त्यस्ता शासकहरुसँग सचेत हुनुपर्नेतर्फ पनि उनले ध्यानाकार्षण गराए। उनले भने,‘हामी त्यस्ता शासकहरुसँग सचेत र सजग हुनुपर्छ।’ बस्नेतले विधेयकविरुद्ध आफ्नो पार्टी सडकमा आउने पनि बताए।
उनले वर्तमान सरकार आएपछि मुलुकमा धेरै ठूला ठूला काण्ड मच्चिएको पनि आरोप लगाए। सूचना प्रविधि विधेयक ल्याएर सरकारले बोल्न, लेख्न नदिनका लागि र प्रेसको घाँटी रेट्नका लागि ल्याउन लागेको पनि उनले आरोप लगाए।
पूर्वराजा ज्ञानेन्द्र शाहले पनि नेपालको मिडियालाई बन्देज लगाउन धेरै कोशिस गरेको स्मरण गराउँदै उनले भने,‘ आज ज्ञानेन्द्र कहाँ पुगे ? त्यो कुरा हेक्का राख्न वर्तमान सरकारलाई होस्। ज्ञानेन्द्रकै जस्तो दशा आजको शासकलाई पनि सर्ने हो।’









![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)

