Kathmandu Press

हिमपातका कारण कञ्चनजङ्घा आधारशिविर जाने पर्यटक प्रभावित

कञ्चनजङ्घा आधारशिविरतर्फ जाँदै गरेका पर्यटक प्रतिकूल मौसमका कारण लोनाक, खाम्बाचेन र आधारशिविर क्षेत्रबाट सुरक्षित स्थान घुन्सातर्फ फर्किएका छन् ।
हिमपातका कारण कञ्चनजङ्घा आधारशिविर जाने पर्यटक प्रभावित

ताप्लेजुङ, कात्तिक १३ : बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले ताप्लेजुङको कञ्चनजङ्घा आधारशिविर जाने पर्यटक प्रभावित भएका छन्। उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि आन्तरिक तथा बाह्य पर्यटकको यात्रा प्रभावित भएको हो।

कञ्चनजङ्घा आधारशिविरतर्फ जाँदै गरेका पर्यटक प्रतिकूल मौसमका कारण लोनाक, खाम्बाचेन र आधारशिविर क्षेत्रबाट सुरक्षित स्थान घुन्सातर्फ फर्किएका छन्। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्, घुन्सा चेकपोस्टका पर्यटन सहायक टासी तेन्जिङ शेर्पाले पर्यटकहरू घुन्सामै रोकिएको जानकारी दिए।

‘बेसक्याम्प जाने पर्यटकहरू घुन्सामै बसेका छन्। ६–७ जना मात्र घुन्साबाट माथि गएका छन्। माथि हिमपात भइरहेको छ। हिमाल सेताम्मे देखिन्छ,’ शेर्पाले भने।

समुद्र सतहदेखि तीन हजार ४७५ मिटर उचाइमा रहेको घुन्सा बस्ती कञ्चनजङ्घा आधारशिविरको प्रवेशद्वार हो। घुन्साबाट दुईवटा क्याम्प पार गर्दै कञ्चनजङ्घा हिमालको उत्तरी आधारशिविर पाङ्पे पुग्न सकिन्छ। खाम्बाचेन समुद्र सतहदेखि चार हजार ५० मिटर, लोनाक चार हजार ७८० मिटर र उत्तरी आधारशिविर पाङ्पे पाँच हजार १४३ मिटर उचाइमा अवस्थित छन्। यी क्षेत्रमा हिमपात भएको छ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार स्वदेशी तथा विदेशी गरी करिब २५० पर्यटक अहिले कञ्चनजङ्घा क्षेत्रमा छन्। उनीहरू त्यस क्षेत्रका विभिन्न बस्ती तथा होटलमा बसेका छन्। ओलाङचुङगोला, घुन्सा र याम्फुदिनलगायत क्षेत्रमा पर्यटकको चहलपहल बढी छ।

भदौदेखि कात्तिक १२ गतेसम्म ६०० जना विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन्।

यता, सदरमुकाम फुङ्लिङमा पनि बिहीबारदेखि निरन्तर वर्षा भइरहेको छ। हिमाली क्षेत्रमा वर्षा र हिमपात भएपछि जिल्लामा चिसो बढेको छ। प्रतिकूल मौसमका कारण कञ्चनजङ्घा आधारशिविर जाने पर्यटकको यात्रा प्रभावित भएको छ।

प्रकाशित मिति: १०:५९ बजे, शुक्रबार, कात्तिक १३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्