जुम्लामा ग्यास लिक भएर एक घरमा आगलागी

सुर्खेत, फागुन ६ : जुम्लामा ग्यास लिक भएर आगलागी भएको छ । चन्दननाथ नगरपालिका– ६ बसपार्कस्थित मेघराज न्यौपानेको घरमा आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार न्यौपानेको तीनतले घरको ग्राउण्ड फ्लोरमा आगलागी हुँदा ४ वटा कोठा, गल्ली र माथिल्लो तला जाने भर्याङमा क्षति भएको छ । प्रहरीका अनुसार सो घरमा भाडामा बसेका नवराज खड्काले खाना पकाउँदै गर्दा रेगुलेटरमा आगो निस्केर आगलागी भएको हो । आगो निभाउन खोज्दा ग्यास सिलिण्डर ढलेर अन्य कपडामा समेत आगो फैलिएको थियो ।
आगो नियन्त्रणमा आइसकेको छ । प्रहरी निरीक्षक जोशीका अनुसार घटनाको जानकारी भएपछि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र चन्दननाथ नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो ।
समयमै दमकल त्यस क्षेत्रमा पुगे पनि बाटो नहुँदा आगलागी भएको घर नजिकै जान सकेन । तर, सँगै रहेको कालिवहादुर बुढाको घरको ट्यांकीमा रहेको पानीले आगो निभाउन सहयोग भएको स्थानीय गोपाल रोकायाले बताए ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










