टुँडिखेलमा सेना दिवसको रौनक (तस्बिरहरू)
नेपाली सेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।
काठमाडौं, फागुन ६ : नेपाली सेनाले आज (शनिबार) मुलुकभर विविध कार्यक्रम गरी २६०औं स्थापना दिवस मनाएको छ। सो अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो।
सो अवसरमा राष्ट्रपति भण्डारीले सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरिन्।

प्रधानसेनापति प्रभुराम शर्माको नेतृत्वमा आयोजित समारोहमा सेनाले परेड, रणकौशल, तोप बढाइँ, कवाज, आतसबाजी, मार्चपास, पिटी र तेक्वान्दो प्रदर्शन गरेको थियो। समारोहमा सेनाले परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र संगीतको धुन प्रदर्शन गरेको थियो।
सोही अवसरमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो। हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित ‘सेना दिवस–२०७९’ लेखिएको ब्यानर प्रदर्शनीसहित पुष्पवृष्टि गरिएको थियो।

राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही-२०७९ वार्षिक पत्रिका र नेपाली सेनाको इतिहास पुस्तकको विमोचन गरिन्। उनले ‘फ्री फल जम्प’मा प्रथम हुने सेनानी जगनाथ दनाई र दोस्रो हुने सेनानी टेकबहादुर कार्कीलाई पुरस्कार प्रदान गरिन्।

त्यस्तै राष्ट्रपति भण्डारीले सेना दिवस समारोहमा ब्याण्ड प्रस्तुत गर्नुहुने भारतीय र बेलायती सेनामा कार्यरत गोर्खा ब्याण्ड समूहका प्रमुखलाई उपहार प्रदान गरिन्। सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ। शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रुपमा लिने गरिन्छ।



































तस्बिरहरू : प्रदीपराज वन्त र रासस
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










