एमालेले प्रस्ताव गरेकै व्यक्ति राष्ट्रपति उम्मेदवार बन्छन् : याेगेश भट्टराई
प्रचण्डले सहयोग मागेपछि सरकार गठनमा एमालेले सघाएको र गठबन्धनका सबै दल एमालेलाई राष्ट्रपति दिन तयार रहेको उनले बताए।
सुर्खेत, फागुन ६ : एमालेका सचिव योगेश भट्टराईले सरकार गठनका बेला माओवादी केन्दैका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै राष्ट्रपति एमालेलाई दिन सहमति जनाएको बताएका छन्। उनले एमालेले प्रस्ताव गरेकै व्यक्ति राष्ट्रपतिका लागि सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बन्ने बन्ने दाबी पनि गरे।
प्रेस चौतारी कर्णालीले आज (शनिबार) सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘प्रचण्ड कमरेड आफैले राष्ट्रपति लिनुस् भनेर दिन आउनुभएको हो। एमाले माग्न गएको होइन। त्यसकारण राष्ट्रपति एमालेकै हुन्छ।’
प्रचण्डले सहयोग मागेपछि सरकार गठनमा एमालेले सघाएको र गठबन्धनका सबै दल एमालेलाई राष्ट्रपति दिन तयार रहेको उनले बताए। ‘प्रचण्डले खोज्दै आएपछि एमालेले प्रधानमन्त्री बनाउन सहयोग गरेको हो। पुस १० गते भएको सहमति मान्न रास्वपा, राप्रपा, जनमत, नागरिक उन्मुक्ति पार्टी सबै मान्न तयार छन्, माओवादी केन्द्रले नमान्ने भन्ने कुरा हुँदैन।’
उनले कांग्रेसको नेतृत्वमा रहेको चुनावी गठबन्धन एमालेको कारणले नभइ आफ्नै कारणले टुटेको जिकिर पनि गरे।
सचिव भट्टराईले एमालेलाई बलियो बनाउने उद्देश्यसहित अबको दुई महिना पार्टीको ठुलो पंक्ति ‘ग्रासरुट’मा खटिने बताए। अहिले पाएको जनमतभन्दा राम्रो नतिजा ल्याउने गरी एमाले अग्रसर हुने उनको भनाइ थियो।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










