कानुन व्यवसायीसँग कांग्रेसले लियो प्रमुख प्रतिपक्षीबारे राय
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज (शुक्रबार) भएको छलफलमा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखकलगायत सहभागी थिए।
काठमाडौं, फागुन ५ : नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दलको मान्यताबारे कानुन व्यवसायीसँग परामर्श गरेको छ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई नबनाउन भनी सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेका बेला कांग्रेस पदाधिकारीहरूले कानुन व्यवसायीसँग परामर्श लिएका हुन्।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज (शुक्रबार) भएको छलफलमा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखकलगायत सहभागी थिए।
कानुन व्यवसायीहरुमा शम्भु थापा, रामनारायण बिडारी, महादेव यादव, खम्बबहादुर खाती, राधेश्याम अधिकारी, गोविन्द बन्दी, रमण श्रेष्ठलगायतलाई बोलाइएको थियो।
कानुन व्यवसायीहरुले प्रतिपक्षी दलको हैसियत कांग्रेसमा रहेको जानकारी गराएको बताइएको छ। संसद सचिवालयले प्रमुख प्रतिपक्ष दलको कुर्सी नै छुट्याएर राखेको र प्रमुख प्रतिपक्षी दलको नेताले प्राप्त गर्ने सेवा सुविधाको लागि पत्र पनि संसद सचिवालयले लेखेको हुँदा कांग्रेस द्विविधामा पनुपर्ने आवश्यकता नरहेको राय उनीहरूले दिएको जनाइएको छ।
अधिवक्ता विमल पोखरेलले सरकारको समर्थन गरेकाले कांग्रसलाई प्रतिपक्षी बनाउन नहुने भनी सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।
यस विवादमा सर्वोच्चले सभामुख, संघीय संसद सचिवालय, नेपाली कांग्रेसको संसदीय दल, नेता शेरबहादुर देउवा र संवैधानिक परिषदलाई लिखित जवाफ पेस गर्न आदेश दिएको छ। कांग्रेसले कानुन व्यवसायीको रायानुसार जवाफ पेस गर्ने बताइएकाे छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










