Kathmandu Press

नरैनापुर गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा देशकै उत्कृष्ट

नरैनापुर गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा देशकै उत्कृष्ट


सुर्खेत, फागुन ५ : मुलुकभरका सात सय ५३ स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा बाँके जिल्लाको नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट बन्न सफल भएको छ। 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले यही फागनु ३ गते सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन नतिजाअनुसार उक्त गाउँपालिका देशकै पहिलो बन्न सफल भएको हो। आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि, २०७८ को दफा ७ को अधीनमा रही प्रदेश तथा स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकका आधारमा गरेको मूल्यांकन अंक प्रदान गरिएको थियो। 

कार्यसम्पादन मूल्यांकनमा नरैनापुरले ७८ दशमलव ५१८६ अंक प्राप्त गरेको छ। दोस्रो बनेको प्यूठानको प्यूठान नगरपालिकाले  ७७दशमलव २६१४ अंक प्राप्त गरेको छ। तेस्रो भएको म्याग्दीको मङ्गला गाउँपालिकाले ७७ दशमलव ०९२६ अंक प्राप्त गरेको थियो। 

कार्यसम्पादनमा नरैनापुर गाउँपालिकालाई  उत्कृष्ट भएको खबरले हर्षित बनाएको उक्त  गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए। 'दुई महिनादेखि बिरामी भएकाले मलाई यो खबर थाहा थिएन। यहाँहरुको सूचनाबाट थाहा पाएँ', उनले भने, ' जनप्रतिनिधि र कर्मचारीको कामप्रतिको यथेष्ट लगावले आज नरैनापुर देशकै उत्कृष्ट भएको हुन सक्छ।' 

लुम्बिनी प्रदेशको बाँकेमा पर्ने उक्त गाउँपालिका आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय हिसाबले अत्यन्तै जोखिम र सुक्खाग्रस्त मानिन्छ। मुस्लिम र हिन्दू बाहुल्यता भएको सो गाउँपालिकामा गरिबी, अशिक्षा र परम्परागत कुसंस्कार पनि विद्यमान रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले राससलाई जानकारी दिनुभयो।

'चालू आर्थिक वर्षमा त पानी नै नपरेर यस गाउँपालिकामा धान हुन सकेन,' उनले भने, 'जिल्लाको अन्य पालिकाहरुको हिसाबले नरैनापुर निकै अभाव र सङ्कटग्रस्त क्षेत्र हो।' प्राकृतिक विपत्ति खासगरी खडेरीले यहाँको कृषि उत्पादनमा समस्या आएको प्रमुख प्रशासकीय अधिकृत खरालले बताए।

उक्त गाउँपालिकाका लेखपाल प्रकाश अधिकारीले काममा अहोरात्र खटेअनुसार सुखद खबर सुन्न पाइएको बताए। उनले भने, 'गत आर्थिक वर्ष बेरुजु आउने पालिकाकामध्येमा हामी जिल्लामै राम्रो देखियौँ। पछिल्लो समयमा अस्पताल जाने सुत्केरी सङ्ख्या ह्वात्तै बढेको छ। घरमा सुत्केरी हुने सङ्ख्या कम रहेको छ।'

विद्यालयमा विद्यार्थी भर्नादर पनि उच्चरुपले बढेको लेखापाल अधिकारी जनाउनुभयो। उहाँका अनुसार आव ०७८÷७९ मा नरैनापुर गाउँपालिकाले ९२ प्रतिशत पूँजीगत खर्च गरेको थियो। पूर्णखोप सुनिश्चित गाउँपालिका घोषित भएर त्यसको दिगो विकास कार्यक्रम सञ्चालन पनि भइरहेका छन्।

राति अबेरसम्म नियमित खटेर काम गर्दा सफलता पाइँदोरहेछ भन्ने कुरा यो नतिजाले देखाएको देशमै पहिलो भएको खबरले हर्षित तुल्याएको उनले बताए।

प्रकाशित मिति: १६:२६ बजे, शुक्रबार, फागुन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्