घरबासमा स्थानीय उत्पादनको प्रयोगमा जोड दिऔं : मन्त्री किराती
'घरबास भनिए पनि कतिपय ठाउँमा बजारबाटै खरिद गरेर ल्याइएका सामग्रीहरुको प्रयोग हुन्छ', उनले भने, 'घरबासमा आउने पाहुनालाई जे जति सकिन्छ स्थानीय परिकारहरु र स्थानीय कला, संस्कृतिको प्रयोगमा जोड दिऔँ, यसले होमस्टेको पहिचान दिन्छ।'
वालिङ, फागुन ५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले घरबास (होमस्टे) ले स्थानीयस्तरमा उत्पादित वस्तुहरुको प्रयोगमा जोड दिनुपर्ने बताएका छन्।
स्याङ्जाको आँधीखोला गाउँपालिका–१ पञ्चमूलमा अवस्थित सिरुबारी सामुदायिक घरबास (होमस्टे) को रजत जयन्तीका अवसरमा आज सिरुबारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले घरबासमा सकेसम्म स्थानीयस्तरमा उत्पादन भएका परिकारहरुका साथै स्थानीय कला, संस्कृतिको प्रयोगमा जोड दिन आग्रह गरे।
'घरबास भनिए पनि कतिपय ठाउँमा बजारबाटै खरिद गरेर ल्याइएका सामग्रीहरुको प्रयोग हुन्छ', उनले भने, 'घरबासमा आउने पाहुनालाई जे जति सकिन्छ स्थानीय परिकारहरु र स्थानीय कला, संस्कृतिको प्रयोगमा जोड दिऔँ, यसले होमस्टेको पहिचान दिन्छ।'
स्थानीयस्तरमा उत्पादन भएको खाद्यान्नको प्रयोगले स्थानीयता पनि झल्कने र गाउँको आम्दानी गाउँमै रहने भएकाले आर्थिक विकासमा समेत महत्वपूर्ण उपलब्धि हुने उनले बताए। यो घरबासको २०५४ कात्तिक २३ गते विधिवत् स्थापना भएको थियो। क्याप्टेन रुद्रमान गुरुङले सिरुबारीलाई दक्षिण एसियाकै पहिलो सामुदायिक घरबासका रुपमा स्थापना गर्नुभएको जनाइएको छ।
घरबासको रजत जयन्तीका अवसरमा गत बिहीबारदेखि विविध कार्यक्रमहरु गरिएका छन्। होमस्टेको राजधानी अर्थात् पाठशालाका रुपमा स्थापित सिरुबारीले विभिन्न पुरस्कारहरु प्राप्त गरिसकेको छ। सिरुबारीले सामुदायिकस्तरमा पर्यटन प्रवर्धनमा पुर्याएको योगदानलाई कदर गर्दै प्यासिफिक एसिया ट्राभल एसोसिएसन–२००१ ‘पाटा अवार्ड’ प्राप्त गरेको छ।
२०७४ मा उत्कृष्ट होमस्टेका रुपमा पनि पुरस्कार प्राप्त गरेको छ। देशकै एकसय नयाँ पर्यटकीय गन्तव्यमध्ये सिरुबारी सामुदायिक घरबास पनि सूचीकृत छ। ३९ घरबाट सुरु भएको घरबास हाल २० घरमा सञ्चालित छ।
यहाँ एकसयको हाराहारीमा पाहुना राख्न सकिन्छ। सिरुबारी गुरुङ समुदायको बसोबास भएको पर्यटकीय गाउँ हो। यहाँ आउने पाहुनालाई गुरुङ समुदायको कला र संस्कृतिबाट न्यानो स्वागत सत्कार गर्ने गरिन्छ।
विशेष गरेर यहाँ घरबासको व्यवस्थापन पक्षका बारेमा बुझ्न टाढाटाढाबाट पाहुनाहरु आउने गर्छन्। २०७८ सालमा सिरुबारी गाउँको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन भइसकेको छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










