Kathmandu Press

राष्ट्रपतिमा साझा व्यक्तिको पक्षमा प्रधानमन्त्री प्रचण्डको चट्टानी अडान

पछिल्लो समय प्रतिगमनकारी शक्तिहरु सक्रिय हुन थालेकोप्रति चिन्तित रहेको भनाइ राख्दै प्रधानमन्त्री प्रचण्डले स्थिरताका लागि राष्ट्रपतिमा साझा व्यक्ति हुनुपर्ने अडानबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
राष्ट्रपतिमा साझा व्यक्तिको पक्षमा प्रधानमन्त्री प्रचण्डको चट्टानी अडान

काठमाडौं, फागुन ५ : राष्ट्रपति साझा व्यक्ति हुनुपर्ने पक्षमा आफ्नो अडानबाट पछि नहट्ने भनाइ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोहोर्‍याएका छन्। पछिल्ला कतिपय घटनाक्रमले प्रधानमन्त्री प्रचण्डको उक्त अडानलाई थप बलियो पारेको छ। 

शुक्रबार ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राजमो महिला नेतृ दुर्गा पौडेलसहितका नेतासँग प्रधानमन्त्रीले साझा व्यक्ति राष्ट्रपति बन्नुपर्ने भनाइ राखेका थिए। ज्ञापनपत्र बुझाउन गएका राजमोका एक नेताले भनेअनुसार पछिल्लो समय प्रतिगमनकारी शक्तिहरु सक्रिय हुन थालेकोप्रति चिन्तित रहेको भनाइ राख्दै प्रधानमन्त्री प्रचण्डले स्थिरताका लागि राष्ट्रपतिमा साझा व्यक्ति हुनुपर्ने अडानबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

पछिल्ला गतिविधिले आफूलाई झस्काएको भनाइसमेत प्रधानमन्त्रीले राजमो नेतासँगके भेटमा राखेका थिए। 
प्रधानमन्त्री प्रचण्डको भनाइ गत फागुन १ गते एमालेकै नेता दुर्गा प्रसाईले पूर्वराजा ज्ञानेन्द्र साहसहित पूर्वराजपरिवारका सदस्यलाई मेचीमा लगेर ‘राष्ट्रिय स्वाभिमान अभियान’ चलाएको विषयमा लक्षित रहेको ज्ञापनपत्र बुझाउन पुगेका राजमोका एक नेताले काठमाडौं प्रेसलाई बताए।

‘प्रधानमन्त्रीले एमालेका नेता प्रसाईको अभियानलाई रहस्यपूर्ण रहेको भन्नुभएको छ,’ राजमोका ति नेताले जानकारी दिँदै भने, ‘राष्ट्रपति साझा र राजनीतिक व्यक्ति नै हुनुपर्छ भन्ने उहाँको सार थियो।’ 

राजमोले प्रधानमन्त्रीले राष्ट्रपतिका लागि लिएको अडान ठिक रहेको बताउँदै पछिसम्म कायम राख्न सुझाव दिएको छ। ‘उहाँ (प्रधानमन्त्री) को कुरा सुन्दा एमालेलाई पुनः राष्ट्रपति दिएर विगतको गल्ति दोहोर्‍याउने भाव बुझिन्थ्यो,’ राजमोका ती नेताले जानकारी दिँदै भने।

राजमो नेताहरुले प्रधानमन्त्रीसँग संघीयताले देशमा व्यथिति बढेको, प्रतिगमामीले टाउको उठाउन थालेको, विदेशी चलखेल बढेको जस्ता सरोकार राख्दै रोक्न ध्यानाकर्षण गराएका थिए। 

राजमोले संविधानको संरक्षक र पालक राष्ट्रपति आवस्यक रहेकाले साझा व्यक्तिमा सहमतीको खोजी गरिनुपर्ने भनाइ राखेको छ। राष्ट्रपतिलाई कार्यकारीको ‘रबरस्ट्याम्प’ बनाउँदा मुलुकमा संवैधानिक विकृति निम्तिएको सरोकार समेत राजमो नेताहरुले राखेका थिए।

राजमो अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य चित्र बहादुर केसीले बागलुङको क्षेत्र नम्बर १ अन्तर्गतका गलकोट, जैमिनीलगायतका स्थानमा लुटपाटका कारण जनता आतंकित रहेको बताउँदै दोषीमाथि कारबाही गरी शान्तिसुरक्षा कायम गर्न समेत प्रधानमन्त्रीसँग माग गरेको छ। 

प्रकाशित मिति: १५:२४ बजे, शुक्रबार, फागुन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्