Kathmandu Press

कांग्रेस उम्मेदवार नै राष्ट्रपति बन्छ : प्रकाशमान सिंह

नेपाल जेसिसले आज (शुक्रबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसले अघि सारेकै उम्मेदवार राष्ट्रपति हुने दाबी गरेका हुन्।
कांग्रेस उम्मेदवार नै राष्ट्रपति बन्छ : प्रकाशमान सिंह

काठमाडौं, फागुन ५ : सत्ता गठबन्धनबाट नेकपा एमालेले राष्ट्रपतिमा दाबी गरिरहेको बेला कांग्रेस नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गरेका छन्। 

नेपाल जेसिसले आज (शुक्रबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसले अघि सारेकै उम्मेदवार राष्ट्रपति हुने दाबी गरेका हुन्। उनले राष्ट्रपतिका लागि कांग्रेसबाट को उम्मेदवार बन्ने भन्ने विषयमा भने केही खुलाएनन्।

‘सन्तुलनका लागि राष्ट्रिय कांग्रेसले अघि सार्ने उम्मेदवारलाई बनाउन प्रयास गर्छौं र कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्नुहुन्छ,’ सिंहले भने। नेता सिंहले संसदको पहिलो दल कांग्रेस भएकाले राष्ट्रपतिमा आफ्नो दाबी स्वाभाविक भएको बताए।

माओवादी केन्द्रले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति खोज्नुपर्ने अडान लिँदा गठबन्धनमा देखिने विवादबीच प्रमुख प्रतिपक्षी कांग्रेस आफ्नो उम्मेदवारलाई राष्ट्रपति बनाउने रणनीतिमा रहेका बेला नेता सिंहले त्यस्तो भन्नुलाई महत्वका साथ हेरिएको छ।

राजनीतिमा सरकार परिवर्तनको खेल स्वाभाविक हुने समेत उनको भनाइ थियो। यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि १३ गते मनोनयन दर्ताको कार्यक्रम छ।

प्रकाशित मिति: १३:५४ बजे, शुक्रबार, फागुन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्