Kathmandu Press

नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको सङ्ख्या १७८ पुग्यो

नेपाल र मलावी दुवै असंलग्न आन्दोलन (एनएएम), ७७ को समूह, अतिकम विकसित देशहरू (एलडिसिज) र भूपरिवेष्ठित विकासशील देशहरू (एलएलडिसिज) का सदस्य हुन्।
नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको सङ्ख्या १७८ पुग्यो

काठमाडौं, फागुन ५ : नेपाल र मलावी गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको सङ्ख्या एक सय ७८ पुगेको छ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत/स्थायी प्रतिनिधि अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि मलावी गणतन्त्रका राजदूत/स्थायी प्रतिनिधि एग्नेस मेरी चिम्बीरी–मोलान्डेले संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, न्युयोर्कमा एक संक्षिप्त समारोहमा बिहीबार सोसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरे।

हस्ताक्षरपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाका बारेमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी गराउने संयुक्त पत्रमा दुवै राजदूतले हस्ताक्षर गरेकाे संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ।

सो अवसरमा दुई राजदूतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा द्विपक्षीय सहयोगलाई मजबुत बनाउन साझा हितका विभिन्न विषयमा विचारविमर्श गरेका थिए। उनीहरूले समूहको साझा हितको संरक्षण र प्रवर्धनका लागि संयुक्त राष्ट्र सङ्घलगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा समूहका रूपमा अतिकम विकसित देशको भूमिकाबारे पनि छलफल गरेको थियो। नेपालले अर्को महिना मलावीबाट एलडिसीको ग्लोबल समन्वय ब्युरोको अध्यक्षको भूमिका सम्हाल्दैछ।

दक्षिणी अफ्रिकामा अवस्थित, मलावी पनि एक भूपरिवेष्ठित देश हो भने मोजाम्बिक, जाम्बिया र ताञ्जानियासँग यसको सिमाना जोडिएको छ। करिब दुई करोड जनसङ्ख्या रहेको मलावीको कूल क्षेत्रफल एक लाख १८ हजार चार सय ८४ रहेको छ। नेपाल र मलावी दुवै असंलग्न आन्दोलन (एनएएम), ७७ को समूह, अतिकम विकसित देशहरू (एलडिसिज) र भूपरिवेष्ठित विकासशील देशहरू (एलएलडिसिज) का सदस्य हुन्।

प्रकाशित मिति: १२:५२ बजे, शुक्रबार, फागुन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्