Kathmandu Press

सरकारले शिक्षा, स्वास्थ्यसहित हरेक कुरामा व्यापार गरिरहेको छ : सुशीला कार्की

सरकारले शिक्षा, स्वास्थ्यसहित हरेक कुरामा व्यापार गरिरहेको छ : सुशीला कार्की

काठमाडौं, फागुन ५ : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षा, स्वास्थ्यसहित हरेक कुरामा व्यापार गरिरहेको आरोप लगाएकी छन्।

आज (शुक्रबार) काठमाडौंको डिल्लीबजारस्थित कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले भनिन्, ‘अहिले त के भयो भयो, शिक्षा व्यापार, स्वास्थ्य व्यापार, हरेक कुरामा व्यापार छ।  छात्रवृत्ति कसले पाउँछ, सरकारले दिने सहुलियत कसले पाउँछ भन्ने केही थाहा छैन।’

शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेका नेपालीले छोराछोरीलाई पढाउन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरिन्।

 ‘कतिपय आमाबुबालाई छोराछोरी पढाउने इच्छा छ, डाक्टर बनाउने इच्छा छ, इन्जिनियर बनाउने इच्छा छ,’ उनले भनिन्, ‘छोराछोरीलाई पनि पढ्ने रहर छ तर हैसियत छैन। जग्गा बेचेको छ, ऋण लिएको छ।’

पहिला पहिला गरिबका बच्चाले पनि चाहँदा पढ्न सक्ने, डाक्टर बन्न सक्ने वातावरण रहेको उल्लेख गदैृ उनले भनिन्, ‘अहिले पैसा नभइ केही पनि हुँदैन।’

उनले आर्यघाटमा पुर्‍याइएको शवमाथि पनि व्यापार हुने गरेको बताइन्। ‘आर्यघाटमा जल्न त महँगो भइसक्यो। कसले चन्दा देला र दाहसंस्कार होला भन्ने भइसक्यो,’ उनले भनिन्।

पूर्वप्रधानन्यायाधीश कार्कीले शिक्षा र स्वास्थ्यमा व्यापार हुन्जेलसम्म सामाजिक उत्थान हुन नसक्ने बताइन्। राजनीतिक दलहरु एउटा कुर्सीको भिडेर बसिरहेको, सरकारका सबै व्यापारमै व्यस्त रहेको उनले नागरिकलाई गाँस, बास र कपासका साथै शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्न सबै पक्ष चुकेको उनले बताइन्।

प्रकाशित मिति: १२:४४ बजे, शुक्रबार, फागुन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्