Kathmandu Press

विश्वकप क्रिकेट लिग–२ : स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङमा नेपाल 

विश्वकप क्रिकेट लिग–२ : स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङमा नेपाल 

काठमाडौं, फागुन ५ : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध फिल्डिङ गरिरहेको छ। नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् । स्कटल्यान्डले नेपालविरुद्ध ब्याटिङ थालेको छ । 

खेलको १६ औं ओभर सकिँदा स्कटल्यान्डले ४ विकेट गुमाएर ६६ रन बनाएको छ । नेपालका लागि कुशल मल्ल र सन्दीप लामिछानेले दुई दुई विकेट लिइसकेका छन् । 

नेपालले यसअघि नामिबियासित खेलेको पहिलो खेलको टोलीमा सामान्य परिवर्तन गरेको छ । नेपालले ललितनारायण राजवंशीको ठाउँमा गुल्सन झालाई स्थान दिएको छ । नेपालले स्कटल्यान्डविरुद्ध घरेलु मैदानमा पहिलो पटक खेल्न लागेको हो । स्कटल्यान्ड बिना दबाब मैदानमा उत्रने छ । अब तीन खेल खेल्न बाँकी रहेको अवस्थामा स्कटल्यान्ड लिग–२ को विजेता बनिसकेको छ । उसले हालसम्म ३३ खेलबाट ४८ अङ्क जोडिसकेको छ । 

नेपालले भने हालसम्म खेलका २५ खेलबाट २० अङ्क मात्र जोडेको छ । नेपाल सात टोली सहभागी लिग–२ को छैटौँ स्थानमा छ । नेपालले यसअघि पहिलो खेलमा नामिबियालाई पराजित गरेको थियो । स्कटल्यान्डविरुद्ध आज खेल्ने नेपाली टोलीमा रोहितकुमार पौडेल ९कप्तान०, आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, गुल्सन झा, करण केसी र सन्दीप लामिछाने रहेका छन् । 

प्रकाशित मिति: १०:०८ बजे, शुक्रबार, फागुन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्