थिएटर मलमा नाटकसँगै १३ कलाकारको प्रदर्शनी
काठमाडौं, पुस २५ : कीर्तिपुर रंगमञ्चमा सामुहिक चित्रकला प्रदर्शनी ‘क्यानभास एट थिएटर’ सुरू भएको छ।
राराहिल कीर्तिपुरस्थित थिएटर ....

काठमाडौं, पुस २५ : कीर्तिपुर रंगमञ्चमा सामुहिक चित्रकला प्रदर्शनी ‘क्यानभास एट थिएटर’ सुरू भएको छ।
राराहिल कीर्तिपुरस्थित थिएटर मलको नाटकघर परिसरमा समकालिन कलाका युवा कलाकारको सिर्जना प्रदर्शनीमा राखिएको हो। नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’को मञ्चनसँगै इचिङ र पेन्टिङ गरि दुई विधाका ३० चित्रहरु प्रदर्शनीमा राखिएको छ।
प्रदर्शनीमा रहेका चित्रहरुले समकालिन नेपाली समाजप्रतिको चिन्ता र चासो अभिव्यक्त गरिएका छन्। युवा कलाकारले सामाजिक विकृति, कुसंस्कार, उत्पीडनलाई चित्रमा उतारेका छन्।
प्रदर्शनीमा कलाकारहरु उद्धवराज रिमाल, टीकादत्त दाहाल, दीपमाला महर्जन, नारायणप्रसाद बोहजु, भिषण राजभण्डारी, मनिषा मानन्धर, रुकुमणी श्रेष्ठ, विद्यमान तामाङ, सन्तोष सिग्देल, सुजिता महर्जन, सुमन महर्जन, सुवास तामाङ, सोनी राईको सामूहिक प्रदर्शनीलाई ‘क्यानभास एट थिएटर’ नाम दिइएको हो। प्रिन्ट मेकिङ कलाकार सुजिता महर्जनले प्रदर्शनीको संयोजन गरेकी छन्।
प्रदर्शनीको कीर्तिपुर नगरपालिका मेयर रमेश महर्जनले गरेका हुन्। कीर्तिपुरलाई कलानगरीको रुपमा विकास गर्न आफू तयार रहेको मेयर महर्जनले बताए।
प्रदर्शनीको उद्घाटनमा थिएटर मलका कलाकारहरुको ‘हामी बोल्छौं’ शीर्षकको विम्वात्मक प्रस्तुति पनि दिएका थिए। जसमा रंगकर्मीहरु मनिष व्याञ्जु, स्नेहा रसाइली, कञ्चन संग्रौला, रोसन केसी, अनिल थपलिया, कुमार थापा, सरोज राई, शंकर भण्डारीको अभिनय रहेको थियो। यसलाई शक्ति पाख्रिनले निर्देशन गरेका थिए।
उद्घाटन कार्यक्रममा थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले कला–संस्कृतिको अभियानमा समन्वय र सहकार्यको अत्यावश्यकता रहेको बताए।
प्रदर्शनी माघ ४ गतेसम्म चल्नेछ। साथै नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’ पनि माघ ४ सम्म मञ्चन हुने जनाएको छ।












