प्रदेश ३ को नाम वागमती र राजधानी हेटौँडा नै रहने
हेटौँडा, पुस २५ : प्रदेश ३ को नाम वागमती र राजधानी हेटौंडा नै रहने भएको छ।
शुक्रबार बसेको प्रदेश ३ नेकपा संसदीय दलको बैठकले नाम वागमती र राज....

हेटौँडा, पुस २५ : प्रदेश ३ को नाम वागमती र राजधानी हेटौंडा नै रहने भएको छ।
शुक्रबार बसेको प्रदेश ३ नेकपा संसदीय दलको बैठकले नाम वागमती र राजधानी हेटौैंडा राख्ने सहमति गरेको हो। केन्द्रको निर्देशनअनुसार संसदीय दलको बैठकले सहमति गरेको मुख्यमन्त्री डोरमणि पौडेलले बताए।
नेकपा सचिवालय बैठकले प्रदेश ३ नाम वागमती र राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो। दुई पटक निर्देशन दिएपनि प्रदेश सभा सदस्यहरुले मानेका थिएनन्। उनीहरुले हेटौंडा उपयुक्त नभएको तर्क गर्दै आएका थिए। केन्द्रबाट दबाब परेपछि उनीहरु सहमत भएको जनाएको छ। शुक्रबारको बैठकमा पनि केही प्रदेश सभा सदस्यले असुन्तुष्टि जनाएका थिए।
आजको सहमतिअनुसार, अब प्रदेश सभामा एउटा मात्रै प्रस्ताव दर्ता गरिने भएको छ। ‘सबै सांसद्हरुको धारणापश्चात् प्रदेशको स्थायी राजधानी र नामकरणको विषयमा सहमति भएको छ। अब प्रदेश सभामा एउटामात्र प्रस्ताव दर्ता हुन्छ। सबैले त्यसैमा मतदान गर्नुहुनेछ,’ मुख्यमन्त्री पौडेलले भने।
यो सहमतिसँगै असन्तुष्ट प्रदेशसभा सदस्यले पनि वागमती र हेटौंडाकै पक्षमा मतदान गर्ने जनाएको छ। अब ह्वीप लगाउने अवस्था नआउने मुख्यमन्त्री पौडेलको भनाइ छ।
आइतबार प्रदेश सभा बैठक बस्दै छ। त्यही बैठकमा प्रस्ताव लगिने जनाएको छ।
प्रदेश सभामा ११० सदस्य छन्। जसमा नेकपाका ८० सदस्य रहेका छन्। प्रदेशको नाम र राजधानी टुंगो लगाउन दुई तिहाइ बहुमत चाहिन्छ। यसका लागि ७४ मत आवश्यक पर्छ।










![वर्षाले काठमाडौंको जनजीवन प्रभावित [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_07534b11-1793336095.jpg)
