‘शिवपुरी निकुञ्ज क्षेत्रकाे सडक ४६ वर्षसम्म पनि कालोपत्र नहुनु अन्याय’
धाप बाँधको वरिपरि बायो इञ्जिनियरिङ नगरे समयअघि नै यसको दुर्गति हुने भएकाले पनि यसतर्फ बेलैमा ध्यान दिनुपर्ने मन्त्री पाण्डेको भनाइ थियो।
काठमाडाैं, फागुन ४ : सहरी विकासमन्त्री विक्रम पाण्डेले निकुञ्ज भएकै कारण आफ्नै गाउँमा जाँदा पनि शुल्क तिर्नुपर्ने अवस्था चितवनको माडीमा पनि रहेको उल्लेख गर्दै आफू वनमन्त्री हुँदा त्यो समस्या समाधान गरेकाले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पनि यो समस्या समाधान गर्न लागिपर्ने बताए।
गोकर्णेश्वर नगरपालिका–१ स्थित निकुञ्जभित्र आज धाप बाँधबाट पानी छाड्न आयोजित कार्यक्रममा उनले भने, 'सडक खुलेको ४६ वर्षसम्म पनि कालोपत्र नहुनु अन्याय हो, यस विषयमा सरोकार भएका निकायबीच बैठक गरी समस्या समाधान गर्न प्रयास गर्छौँ, निकुञ्जबीचको सडक कालोपत्र नहुँदा जङ्गली जनावर र पक्षीले धुलो खान बाध्य हुनु कति न्यायोचित छ', उनले भने।
धाप बाँधको वरिपरि बायो इञ्जिनियरिङ नगरे समयअघि नै यसको दुर्गति हुने भएकाले पनि यसतर्फ बेलैमा ध्यान दिनुपर्ने मन्त्री पाण्डेको भनाइ थियो। नागमती बाँधलाई एसियाली विकास बैंकले पनि विश्वकै आठौँ नम्वरको परामर्शदाता खटाएर सहयोग गरेको उनले बताए।
‘डिजाइनिङ’ र ‘सुपरभिजन’ गलत गर्ने इञ्जिनियरलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी मन्त्री पाण्डेले दिए। यो बाँधले निकुञ्ज क्षेत्रमा अरु बाँधका लागि वातावरण बनाउने विश्वाससमेत उनले व्यक्त गरे।
काठमाडौँ क्षेत्र नं ३ का सांसद सन्तोष चालिसेले सुक्खा रहने हिउँदमा वाग्मतीलाई सफा राख्न धाप बाँधले सहयोग गर्ने बताउनुभयो। करिब आधा दर्जन स्थानमा वाग्मती ढल हालिएको बताउउँदै उनले त्यसलाई व्यवस्थापन गर्न अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको ध्यानाकर्षण गराए।
'जैविक विविधतालाई जोगाउँदै निकुञ्ज क्षेत्रमा पूर्वाधार विकास गरिनुपर्छ, यहाँका जनताले शुल्क तिर्नुपर्ने अवस्था अन्त्य गरिनुपर्छ, धाप बाँधमा स्टिमर चलाउन गोकर्णेश्वर नगरपालिकालाई दिनुपर्छ, यसबाट वार्षिक रु २५ करोड आम्दानी हुन्छ', सांसद चालिसेले भने।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले जलविद्युत्सहित नागमती बाँध बनाउन पनि स्थानीय सरकारका तर्फबाट सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। नगरपालिकाको वडा नं १ देखि ४ सम्म ढल व्यवस्थापन गर्न लागिएको जानकारी पनि उनले दिनुभयो। एसियाली विकास बैंकका देशीय निर्देशक आर्नो कुसुवाले सभ्यताको स्रोत वाग्मतीलाई शुद्ध बनाउन सहयोग निरन्तर जारी राखिने बताए।
कार्यक्रममा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, सिँचाइ एकाइ प्रमुख कृष्णप्रसाद रिजाल, अधिकारसम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायतले वाग्मती नदीमा स्वच्छ पानी बगाउन भइरहेका गतिविधिका बारेमा प्रकाश पारेका थिए।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










