वाग्मती नदीलाई सफा बनाउन धाप बाँधले सहयोग गर्छ : लिङ्देन
गोकर्णेश्वर नगरपालिका–१ स्थित निकुञ्जभित्र आज धाप बाँधबाट पानी छाड्न आयोजित कार्यक्रममा उनले यो बाँधले वाग्मतीलाई पुरानै स्वरुपमा फर्काउन सहयोग पुग्ने बताए।
काठमाडाैं, फागुन ४ : उपप्रधान, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बीचमा बनेको धाप बाँधबाट छोडेको पानीले सभ्यताको स्रोत वाग्मती नदीलाई सफा बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।
गोकर्णेश्वर नगरपालिका–१ स्थित निकुञ्जभित्र आज धाप बाँधबाट पानी छाड्न आयोजित कार्यक्रममा उनले यो बाँधले वाग्मतीलाई पुरानै स्वरुपमा फर्काउन सहयोग पुग्ने बताए। धाप बाँधभन्दा मुनि नागमती बाँध बनाउन हालैको मन्त्रिपरिषद् बैठकले जग्गा व्यवस्थापनको निर्णय गरेको जानकारी पनि उपप्रधानमन्त्री लिङ्देनले दिए।
आजदेखि प्रतिसेकेण्ड चार सय लिटर पानी वाग्मतीमा पठाइएको छ। महाशिवरात्रिको अवसर पारेर वाग्मतीमा स्वच्छ पानी बगाउन धाप बाँधबाट पानी छाडिएको हो। आजै बाँधस्थलमा शिलालेख पनि अनावरण गरिएको छ।
नागमती बाँध बनेपछि भने वाग्मती नदीमा सोचेअनुरुपको सुधार हुने विश्वास गरिएको छ। नेपाल विश्वमै जाति, भाषा, धर्म, संस्कृतिमा विविधताबीचको एकता भएको देशका रूपमा परिचित रहेको उल्लेख गर्दै उनले जैविक विविधता उत्तिकै रहेको जानकारी गराए।
'धाप बाँधस्थल जैविक विविधताका कारण पनि पर्यटकीय महत्व बोकेको स्थलका रूपमा परिचित छ, तर यो ठाउँमा ओहोरदोहोर गर्ने स्थानीयवासीले पनि निकुञ्जलाई शुल्क तिर्नुपर्ने नियम गलत छ, यस विषयमा आजैको मन्त्रिपरिषद्मा कुरा उठाउँछु, यस्तो विषय अरुले सुन्दा पनि यो लाजमर्दो हुन्छ, यहाँको उकालो र घुम्ती सडकमा कालोपत्र गर्न दिएर वन्यजन्तुलाई क्षति पुग्दैन, कानुनको त्यान्द्रो समातेर जनतालाई दुःख दिने काम बन्द गरिनुपर्छ', उपप्रधानमन्त्री लिङ्देनले भने। साढे चार दशकअघि बनेको सडकलाई कालोपत्र हुन नदिँदा यहाँका बोटबिरुवाको सौन्दर्यमा असर गरेको उनले सुनाए।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










