चैत २४ र २५ गते काठमाडौं महानगरले न्यायिक समितिको राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं, फागुन ४ : आउँदो चैत २४ र २५ गते काठमाडौँ महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने तयारी अगाडि बढाएको छ ।
स्थानीय तहमा न्याय सम्पादनको अनुभव आदान प्रदान सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनको तयारीका लागि उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा ‘न्यायिक समिति मूल समारोह समिति’ गठन भएको छ ।
महानगरको न्यायिक समितिका सदस्यहरु कुश ढकाल र आशा श्रेष्ठ रौनियार समारोह समितिका सदस्य छन्। प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, प्रशासन विभागका प्रमुख दिपक अधिकारी, वित्त विभागका प्रमुख बुद्धरत्न मानन्धर सदस्य हुनुहुन्छ भने सदस्य सचिवमा कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्य छन् ।
आज समितिको दोस्रो बैठक सम्पन्न भएको हो ।
बैठकमा उपप्रमुख एवं मुल समारोह समितिकी संयोजक डंगोलले, सबै पालिकाबाट न्यायिक समितिबाट प्रतिनिधित्व गराउने र असल अभ्यास आदान प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताइन् । सम्मेलनलाई नतिजामुखी बनाउने, प्राप्त उपलब्धीलाई संस्थागत अभिलेखमा राख्ने र आपसी सिकाइ प्रवर्धन गर्ने गरी सम्मेलन सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ ।
समितिका सदस्य सचिव आचार्यका अनुसार ४ मूल विषयमा केन्द्रीत हुने गरी सम्मलेनका कार्य पत्रहरु प्रस्तुत हुनेछन् । न्यायिक समितिको अवधारणा, विभिन्न कानुनमा भएका न्यायिक समिति सम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र यसको प्रचलन प्रस्तुतिको एउटा विषय हो ।
दोस्रो विषयका रुपमा स्थानीय विवाद समाधानमा मेलमिलाप प्रक्रिया र यसको प्रवर्र्धन सम्बन्धी विषय राखिएको छ । न्यायिक समितिले गर्ने न्यायिक निर्णय र यसका लागि अनिवार्य रुपमा पालना गर्नुपर्ने प्रक्रियाहरु तेस्रो प्रस्तुतिका रुपमा रहनेछ । यस्तै न्यायिक समितिमार्फत भएका मिलापत्र र निर्णयको प्रभावकारी कार्यान्वयनको सुनिश्चितता तथा त्यसका लागि आवश्यक संस्थागत प्रवन्ध प्रस्तुतिको चौथो विषय हुनेछ ।
प्रस्तुतिपछि समुहगत छलफल, प्रस्तुति हुनेछ । काठमाडौँ विवाद निरुपण घोषणा २०७९ जारी गर्दै सम्मेलन सकिनेछ ।सम्मेलनबाट प्राप्त भएका उपलब्धीलाई संस्थागत प्रबन्धबाट उपयोगमा ल्याउन न्यायिक समिति राष्ट्रिय सञ्जाल, प्रदेश सञ्जाल र जिल्ला सञ्जाल चयन हुनेछ । राष्ट्रिय सञ्जालका पदाधिकारीहरुको चयन सम्मेलनबाटै हुनेछ ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










