राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले आज (बिहीबार) सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अधिकांश दलले विश्वासको मत दिएकाले राष्ट्रपति निर्वाचनमा पनि राष्ट्रिय सहमतिको आवश्यकता देखिएको बताए।
काठमाडौं, फागुन ४ : उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसलाई पनि समेट्ने गरी सहमति खोज्न चाहेको बताएका छन्।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले आज (बिहीबार) सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अधिकांश दलले विश्वासको मत दिएकाले राष्ट्रपति निर्वाचनमा पनि राष्ट्रिय सहमतिको आवश्यकता देखिएको बताए।
राष्ट्रपतिमा समेत सबै दललाई समेट्न आवश्यकता देखिएको श्रेष्ठले बताए । संसद्मा भएका सत्तापक्ष प्रतिपक्ष सबै दलको सहमतिमा राष्ट्रिय वातावरण बनाएर राष्ट्रपति चयन गर्नुपर्ने बताए ।
‘राष्ट्रपतिमा सबै दललाई समेट्न आवश्यक देखिएको छ, उनले भने, ‘राष्ट्रपति चयनका सन्दर्भमा प्रमुख प्रतिपक्षीलाई समेत विश्वासमा लिएर राष्ट्रिय सहमतिको वातावरण बनाएर अगाडि बढ्नु सान्दर्भिक हुन्छ।’
उनले सत्ता समीकरण बदलिहाल्ने आफूहरुको चाहना नभएको पनि स्पष्ट पारे। उनले कसैले चाहेर गठबन्धन नभत्किने पनि बताए। ‘सरकार चलाइरहेका दलहरुले सही दृष्टिकोण, नीति र कदम चालेर विश्वासको वातावरण बनाइराख्नुपर्छ,’ उनले भने, ‘तर प्रतिगमनलाई कुनै हालतमा अघि बढ्न दिन्नौं।’
राष्टियताको रक्षा, समृद्धि र शान्ति प्रक्रियाका बाँकी काम आफूहरुको प्राथमिकता भएको उनको भनाइ थियो।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










