भण्डारीले स्वास्थ्यमन्त्रीसँग भनेका थिए- नेपालमै उपचार होस्
भण्डारीको उपचार नेपालमा सम्भव नहुने भएपछि भारत रिफर गर्नुपरेको कीर्तिपुर बर्न अस्पताले जनाएको छ।
काठमाडौं, फागुन ४ : खाना पकाउने (एलपी) ग्यास सिलिन्डर विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीलाई नेपालमा उपचार सम्भव नभएपछि भारतको मुम्बई लगिँदै छ।
भण्डारीले उनलाई भेट्न कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीसँग स्वदेशमै उपचार गराउने इच्छा व्यक्त गरेका थिए।
भण्डारीलाई भेट्न स्वास्थ्य मन्त्री गिरी बिहीबार बिहान कीर्तिपुर पुगेका थिए। भण्डारीको स्वास्थ्यस्थिति बुझेर बाहिरिएका मन्त्री गिरीले सञ्चारमाध्यमसँगको कुराकानीमा भण्डारीले नेपालमै उपचार गराउने इच्छा व्यक्त गरेको बताएका थिए। भण्डारीले मन्त्री गिरीसँग ‘नेपालमै उपचार गर्न पाए हुन्थ्यो’ भनेका थिए।
कीर्तिपुरस्थित बर्न सेण्टरका चिकित्सकले भारत नै लैजानू राम्रो हुने भनेपछि मुम्बईस्थित नेसनल बर्नस् सेन्टरमा लैजान लागिएको हो। भण्डारीको उपचार नेपालमा सम्भव नहुने भएपछि भारत रिफर गर्नुपरेको कीर्तिपुर बर्न अस्पताले जनाएको छ।
उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीको दुवै हात, दुवै गोडा र अनुहार जलेको छ। अस्पतालको स्रोत र साधनको अवस्था अनुसार नेपालमा उपचार गर्न असहज भएका कारण रिफर गर्नुपरेको बर्न अस्पताल प्रसासनले जनाएको छ।
उपचारसँगै पोलेको ठाउँमा छाला राख्नुपर्ने भएका कारण देशबाहिर सुविधा सम्पन्न अस्पतालमा रिफर गर्नुपरेको हो।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










