निफमा निर्णायक समितिले पायो पूर्णता
फिचर चलचित्रतर्फको निर्णायकमा अमेरिकी अभिनेता जेफ मोनाहान मनोनित भएसँगै समितिले पूर्णता पाएको हो।
काठमाडाैं, फागुन ४ : आगामी चैत २ देखि ६ गतेसम्म काठमाडौँमा आयोजना हुने छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को निर्णायक समितिले पूर्णता पाएको छ।
फिचर चलचित्रतर्फको निर्णायकमा अमेरिकी अभिनेता जेफ मोनाहान मनोनित भएसँगै समितिले पूर्णता पाएको हो। अभिनेता, लेखक र निर्माताको रूपमा सक्रीय रहनुभएका मोनाहान यसअघि उक्त विधाको प्रमुखमा भारतीय समीक्षक प्रेमेन्द्र मजुमदार र सदस्यमा अभिनेत्री प्रियङ्का कार्की मनोनीत हुनुभएको थियो।
यस्तै, छोटो तथा वृत्तचित्रतर्फको निर्णायकमा प्रा.डा. इतामी बोर्जन मनोनीत भएका छन्। चलचित्र विशेषज्ञसँगै शिक्षाविद् रहनुभएकी बोर्जनले क्रोएसियाको जाग्रेब विश्वविद्यालयमा एथनोग्राफिक, वृत्तचित्र, विश्व चलचित्रको इतिहास र सिद्धान्त पढाउँछन्। उहाँ यसअघि उक्त विधातर्फ प्रमुखमा ‘बेइजिङ फिल्म एकेडेमी’ की डिन प्रालि रान र सदस्यमा माया एकेडेमीका इन्द्रलाल बलामी मनोनीत भएका थिए।
'विश्व चलचित्रसँगसमेत जोडिनुभएका व्यक्तिलाई निर्णायकमा राख्न पाउँदा उत्साहित छौँ। यसले नेपालमा रहेका निर्माता तथा निर्देशकलाई पनि साक्षात्कार गर्ने र विश्वमा बनिरहेका चलचित्रसँगै वृत्तचित्र बुझ्ने अवसर मिल्नेमा विश्वस्त छु', निफका अध्यक्ष केपी पाठकले भने।
यस वर्ष ‘निफ’ मा छनोट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा तथा एनिमेटेड चलचित्र प्रदर्शन गरिनेछन्। सात विधामा १४ पुरस्कार वितरण गरिने उक्त महोत्सवमा रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तर्क्रिया) समेत आयोजना गरिने अध्यक्ष पाठकले जानकारी दिए।












