प्रहरीको गाडीमा आगजनी तथा तोडफोड गरेको आरोपमा ६ जना पक्राउ

काठमाडाैं, फागुन ३ : यातायात मजदुरले साेमबार गरेकाे आन्दाेलनकाे क्रममा प्रहरीको गाडीमा आगजनी तथा तोडफोड गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरीको गाडी आगजनी गर्ने ६ जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए।
प्रहरीले सामाजिक सञ्जालमा बाहिरिएका भिडिओ, फुटेज, फोटोलगायत विश्लेषण गरी उनीहरूलाई पक्राउ गरेको एसएसपी कार्कीले बताए।
उदयपुर घर भई काठमाडौं बस्ने ४० वर्षीय बिक्रम राई, नुवाकोट घर भई टोखा बस्ने ३० वर्षीय रामहरी भण्डारी, लमजुङ घर भई तार्केश्वर बस्ने २३ वर्षीय विवेक श्रेष्ठ, काभ्रेका ३१ वर्षीय राजेश तामाङ, गोंगबु बस्ने १८ वर्षीय दिपेन्द्र पुन मगर र काभ्रेका २० वर्षीय आशिष खड्का पक्राउ परेका हुन्।
गत सोमबार यातायात मजदुरको आन्दोलनले उग्र रूप लिँदा दुई वटा प्रहरीको भ्यान, आयरल्यान्ड, प्रहरी बिटमा तोडफोड तथा आगजनी भएको थियो।
प्रहरी वृत्त बालाजुका डिएसपी चढ्ने बा २ झ १४४ नम्बरको भ्यान र बा १ झ ७२२४ नम्बरको सिआरभी भ्यानमा आगजनी भएको थियो।
प्रहरीले यसै घटनामा संलग्न अन्य ९/१० जनालाई पनि नियन्त्रणमा लिएर स्क्रिनिङ गरिरहेको छ।
यस्तै त्यही बेलामा ल्होत्से मलमा लुटपाट गर्ने चार जनालाई पनि प्रहरीले सार्वजनिक गरेको हो।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










