मेयर शाहसँग तत्काल जरिवाना अशुल नगर्न सर्वाेच्चकाे आदेश

काठमाडाैं, फागुन ३ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग जरिवाना अशुल नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । मेयर शाहले आयाेगले ताेकेकाे समयमा निर्वाचन खर्च नबुझाएपछि जरिवाना ताेकेकाे थियाे।
मेयर शाहले गत पुसको दोस्रो साता उनीसहित एक लाख २३ हजार ६ सय २४ जनालाई जरिवाना अशुल गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सोही रिटमाथि बुधबार सुनुवाइ गर्दै कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनीलकुमार सिन्हा र प्रकाशमान सिंह राउत संलग्न संवैधानिक इजलासले यस्तो आदेश जारी गरेको हो ।
गत मंसिरमा निर्वाचन सम्पन्न भएको ३० दिनभित्र आयोगमा खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई जरिवाना तोक्दै ६ महिनाभित्र तिर्न निर्वाचन आयोगले अल्टिमेटम दिएको थियो ।
उक्त अवधिमा जरिवाना नबुझाउने व्यक्ति अन्य निर्वाचनमा उम्मेदवार बन्न पनि अयोग्य हुने, निर्वाचित भइसकेको अवस्थामा पदमुक्तसमेत हुने निर्वाचन आयोगको निर्णय थियो । आयोगले काठमाडौंका मेयर शाहलाई ७ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










