संस्कृत र वैदिक परम्पराको संरक्षणमा लाग्न राष्ट्रपति भण्डारीको जोड

दाङ, फागुन ३ : राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत ज्ञानको प्रवाहलाई संरक्षण गर्दै आयुर्वेद, योग, प्राकृतिक चिकित्साविधि एवं वास्तु शास्त्रीय विषय आधुनिक शैलीबाट अध्यापन गराउने वातावरण मिलाउन नेपाल संस्कृति विश्वविद्यालयलाई आग्रह गरेकी छन् ।
राष्ट्रपति भण्डारीले ऋषिमुनिहरुले नासोका रुपमा हामीलाई छोडेर गएका नेपालका वैदिक परम्परा तथा उपचार विधिहरुको संरक्षण गर्नु हाम्रो कर्तव्य रहेको र यसका लागि मुलुकका विश्वविद्यालयहरु पनि लाग्नुपर्नेमा जोड दिइन्।
दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा निर्माण भएको आयुर्वेद शिक्षण भवन उद्घाटनका लागि आज यहाँ आएकी राष्ट्रपति भण्डारीले सो भवनको उद्घाटन गर्दै सो धारणा राखेकी हुन् ।
उनले संस्कृत शिक्षासँग आफ्नो पनि व्यक्तिगत एवं भावनात्मक सम्बन्ध रहेको भन्दै जननेता मदन भण्डारी पनि संस्कृत विधाकै उत्पादन रहनुभएको स्मरणसमेत गरिन्। राष्ट्रपति भण्डारीले भनिन्, ‘संस्कृत वाङ्मयको गहन अध्ययन गरेको हुनाले नै जननेता स्व मदन भण्डारीमा सिर्जनात्मक क्षमता, उच्च नैतिकता, गहन संस्कृति बोध र सच्चा राष्ट्रप्रेमजस्ता विशेष गुण विद्यमान थिए ।’
दाङ उपत्यका नेपालको ठूलो उपत्यकामध्येको एक रहेको र मानव सभ्यताको विकासमा यसको ठूलो योगदान रहेको स्थानका रुपमा पनि चिनारी रहेको बताउँदै उनले आफू धेरै पटक दाङ आएको स्मरण पनि गरिन्।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










