Kathmandu Press

उपप्रधानमन्त्री लिङ्देन-राजदूत  भोल्क शिष्टाचार भेट

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार–विमर्श भएको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
उपप्रधानमन्त्री लिङ्देन-राजदूत  भोल्क शिष्टाचार भेट

काठमाडाैं, फागुन ३ : उपप्रधानमन्त्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी जाने भोल्कले शिष्टाचार भेट गरेकी छन्।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार–विमर्श भएको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा उपप्रधानमन्त्री लिङ्देनले नेपाल र अष्ट्रेलियाबीच छ दशक लामो कूटनीतिकसम्बन्ध रहेको चर्चा गर्दे कृषि, जलस्रोत, शिक्षालगायतका क्षेत्रमा सहयोग गरी नेपाली जनताको जीवनस्तर सुधारमा पुर्‍याएको योगदानका लागि अष्ट्रेलियन सरकारलाई धन्यवाद दिए। 

जलस्रोत व्यवस्थापनमा सहकार्य गर्नका लागि नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अस्ष्ट्रेलियाको ‘कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन’बीच सन् २०१७ मा समझादारी भएको स्मरण गर्दै उनले कमला नदीको पानीलाई व्यवस्थित रुपले प्रयोग गर्ने र चुरे दोहन रोक्ने लगायतका कार्यमा कमला नदी ‘स्टेट अफ दी बेसिन प्लान’ कार्यान्वयनको चरणमा रहेको जानकारी दिए। 

फरक प्रसंगमा उपप्रधानमन्त्री लिङ्देनले ५० हजारभन्दा बढी विद्यार्थी अष्ट्रेलियामा अध्यनरत रहेको चर्चा गर्दै उनीहरुले लैजाने सामानको क्वारेन्टाइन गर्नेलगायतका समस्या समाधानका पक्षमा सकारात्मक भूमिका निर्वाह गर्न राजदूत भोल्कसँग आग्रह गरेका थिए। 

नेपाल-अस्ष्ट्रेलिया साझेदारीलाई थप सुदृढ बनाउन राजदूत भोल्कबाट निर्वाह भएको भूमिकाको प्रशंसा गर्दै उनले नेपालको आर्थिक तथा सामाजिक विकासमा अस्ष्ट्रेलियाले पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे। भेटवार्ताका क्रममा अष्ट्रेलियन राजदूत भोल्कले जलस्रोत व्यवस्थापनमा कमला नदी ‘स्टेट अफ दी बेसिन प्लान’ नमूनायोग्य कार्य हुने उल्लेख गर्दै जल तथा ऊर्जा क्षेत्रमा नेपाल र अष्ट्रेलियाबीच भएको  सम्झौता अविष्मरणीय रहेको बताइन्।

अष्ट्रेलियन राजदूत भोल्कले नेपाल र अष्ट्रेलियाबीच रहिआएको द्विपक्षीयसम्बन्ध आगामी दिनमा अझ सुदृढ र घनिष्ट हुने विश्वास व्यक्त गरेकाे उपप्रधानमन्त्री लिङ्देनका प्रेस संयोजक रञ्जित प्रसाईंद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: १६:३१ बजे, बुधबार, फागुन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्