Kathmandu Press

मानवअधिकार आयोगलाई बलियो बनाउँछौँ : प्रधानमन्त्री

मानवअधिकार आयोगलाई बलियो बनाउँछौँ : प्रधानमन्त्री

काठमाडौं, फागुन ३ :  प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो कार्यकालमा राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने बताएका छन् । 

बुधबार दिउँसो राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरूसँग सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपालको अन्तर्राष्ट्रिय छवि राष्ट्रिय मानवअधिकार आयोगबाट मापन हुने बताउँदै आयोगलाई शक्तिशाली र स्रोतसाधनसम्पन्न बनाउने बताएका हुन् । 

‘सरकार मानवअधिकारप्रति सम्वेदनशील छ। लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने कुरामा म पुरै गम्भीर छु। आयोगका सातवटै प्रदेशका संरचना पनि बलियो बनाएर लोकतन्त्र, कानुनी राज्य र जनताको मानवअधिकारलाई संरक्षण र प्रवर्धन गर्नुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने । 

बैठकमा आयोगका पदाधिकारीहरूले संघीय संरचनाअनुसार आयोगको पुनर्संरचना आवश्यक रहेको, साधनस्रोत र पर्याप्त बजेटका निम्ति सरकारसँग सहयोगको अपेक्षा गरिएको भन्दै मानवअधिकार आयोगका निम्ति आवश्यक पर्ने ऐनहरू र नियमावली निर्माणलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । 

छलफलमा प्रधानमन्त्रीले आयोगका सबै माग र ध्यानाकर्षण आफूले योजनावद्ध रूपमा पूरा गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन्। 

प्रकाशित मिति: १५:३७ बजे, बुधबार, फागुन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्