Kathmandu Press

सांसदले उठाए किसानका समस्यादेखि सवारी चालक अनुमतिपत्रको मापदण्डका विषय

सांसदले उठाए किसानका समस्यादेखि सवारी चालक अनुमतिपत्रको मापदण्डका विषय

काठमाडाैं, फागुन ३ : प्रतिनिधिसभाका सांसदहरुले जनजीविकाका विभिन्न विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले प्रजातन्त्र स्थापनाको ६२ वर्ष पूरा हुँदा पनि नेपालीहरु आधारभूत आवश्यकताकै लागि भाैंतारिनुपरेको बताए। धनी र गरिबले पढ्ने दुई थरी विद्यालय अरू कुन देशमा छ भनी उनले प्रश्न गरे।

आर्थिक अवस्था कमजोर हुनेले स्वास्थ्य उपचार गर्न नसक्ने गरी मेडिकल माफियाले काम गरेको, छिमेकी देशमा छोटो समयमा अस्पताल बन्ने गरेको उल्लेख गर्दै नेपालमा क्यान्सर अस्पताल भए पनि परीक्षण गर्ने यन्त्र नभएकोतर्फ उनले सरकारको ध्यानाकर्षण गराए।

एमाले सांसद योगेशकुमार भट्टराईले सडक दुर्घटनाबाट वार्षिक तीन प्रतिशत कूल गार्हस्थ्य उत्पादन गुमाइरहेकाले यसतर्फ ध्यान दिनुपर्ने बताए। उनले स्विडेन, जर्मनमा सडक दुर्घटना कम गरिएको उदाहरण सुनाउँदै अन्तर्राष्ट्रियस्तरको चालक अनुमतिपत्रको व्यवस्था गर्नुपर्नेमा ध्यानाकर्षण गराए।

विकास तथा प्रविधि समितिले सडक दुर्घटना कम गर्न दिएको प्रतिवेदन कार्यान्वयन नभएको भन्दै उनले सडक विभागले बनाएको सडक ठीक छ छैन भनी जाँच गर्ने छुट्टै निकाय चाहिने माग गरे।

माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्ती मगरले सङ्घीयता लागू भएको स्थानीय तहमा आवश्यक कर्मचारीको कमी हुँदा स्थानीय जनताले सेवा प्रवाहका कठिनाइ भएको बताए। उनले किसानलाई अनुदानभन्दा सहुलियतको व्यवस्था गरेर किसानका उत्पादनका लागि बजार सुनिश्चित गर्न सके मात्र आत्मनिर्भरमुखी कृषि बनाउन सकिने धारणा व्यक्त गरे। उनले संसद्मा सत्ता पक्ष र विपक्ष भए पनि संविधान कार्यान्वयनका सम्बन्धमा सबै शक्ति एकजुट हुनुपर्ने धारणा व्यक्त गरे।

किसानले मल र बीउ समयमै पाउनुपर्छ

स्वतन्त्र सांसद हरि ढकालले किसानको मुद्दा सबैले उठाए पनि सरकारले दिने अनुदान वास्तविक किसानले पाउन नसकेको भन्दै वडास्तरमै यसको व्यवस्था हुनुपर्ने धारणा व्यक्त गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बीना जैसवालले विगतमा सञ्चालित तर हाल बन्द भएका उद्योग पुनः सञ्चालन गर्न माग गरे। यसले एकातिर रोजागारी सिर्जना हुने र अर्कोतिर आयातमा कमी हुने उनको भनाइ थियो।

जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले नागरिकतासम्बन्धी विधेयक संसद्बाट दुईदुई पटक पारित हुँदा पनि राष्ट्रपतिबाट रोकिनु दुःखद भएको बताए। उनले कानुनको अभावमा जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउन नसकेकोप्रति सदनको ध्यानाकर्षण गराए।

नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले विगतको सवारी अनुमति चालकपत्रको प्रावधान सच्याई अहिले ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्थाले अहिले मुलुकमा दुई मापदण्डका सवारीचालक अनुमतिपत्र भएको उल्लेख गरे। साथै उनले सवारी चालक अनुमतिपत्रमा गरिएको खुकुलो मापदण्डले सवारी दुर्घटना बढ्न सक्नेतर्फ ध्यानाकर्षण गराए।

जनमत पार्टीका सांसद अनिता देवीले मुलुकमा किसानले समयमा मल र बीउ नपाउने तथा सिँचाइको व्यवस्था नहुने अवस्था रहेको उल्लेख गर्दै मुलुकमा लाखौँ सवारी साधन भए पनि ती सवारी साधनमा प्रयोग हुने इन्धन कहिले पनि कमी नहुने तर किसानले पैसा तिरेर पनि समयमा मल नपाउने किन भनी प्रश्न गरिन्।

 

प्रकाशित मिति: १४:४४ बजे, बुधबार, फागुन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्