कांग्रेस रबरस्टाम्प राष्ट्रपतिको विरुद्धमा उभिन्छ : प्रदीप पौडेल
आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले रबरस्टाम्प राष्ट्रपतिको विरुद्धमा उत्रिँदै गर्दा ढोक्सा थापेको मानिन्छ भने कांग्रेस ढोक्सा राम्रोसँग थाप्न तयार रहेको उनले बताए।
काठमाडाैं, फागुन ३ : कांग्रेस सांसद प्रदीप पौडेलले राष्ट्रपति पदका लागि कांग्रेसले ‘ढोक्सा’ नथापेको बताएका छन्।
आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले रबरस्टाम्प राष्ट्रपतिको विरुद्धमा उत्रिँदै गर्दा ढोक्सा थापेको मानिन्छ भने कांग्रेस ढोक्सा राम्रोसँग थाप्न तयार रहेको उनले बताए।
‘त्यस्तै अर्थ लाग्छ भने त्यो ढोक्सा राम्रोसँग थाप्न हामी तयार छौं, संवैधानिक मर्यादाको रक्षाका निम्ति, देशको अभिभावक राष्ट्रपति हो भन्ने मान्यता स्थापित गर्नका निम्ति, संवैधानिक मान्यता अक्षुण्ण राख्न दत्तचित्त हुने व्यक्ति राष्ट्रपति बनाउन नेपाली कांग्रेस प्रतिबद्ध छ।’
उनले कांग्रेस रबरस्टाम्प राष्ट्रपतिको विरुद्धमा रहेको स्पष्ट पार्दै भने, ‘यहाँ राष्ट्रपति चाहिएको होइन, रबर स्टाम्प राष्ट्रपति चाहिएको छ। यहाँ आफ्नै घरमा लालमोहर ल्याएर लाइदिने राष्ट्रपति, आवश्यकता पर्यो भने मुख्यसचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ।’
उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै उनले भने, ‘उहाँले कुन जंगल, बाघ र बालाको कुरा गर्नुभएको हो? उहाँसँग के छ र हामीलाई दिन? कांग्रेस संसदको सुरक्षा र स्थायित्वका निम्ति उभिएको उनले बताए।
उनले अहिलेको संसदबाट आफू उत्साहित हुन नसकिरहेको, बैठकमा शीर्षनेताबाटै संसद विघटनको महिमागान हुने गरेकाप्रति उनले असन्तुष्टि जनाए। ‘संसद विघटन कायरता थियो, त्यसलाई छोप्ने बहादुरी अहिले पनि भइरहेको छ,’ उनले भने, ‘कांग्रेसले त्यस्तो कायरता दोहोरिन दिँदैन।’
उनले एमाले कानुनप्रति निष्ठावान् हुन नसकेको पनि आरोप लागाए। ‘संसदको राष्ट्रमबाटै सर्वोच्च अदालत आफ्नो पार्टीको विभागजस्तो गर्दै ललकार्ने प्रवृत्ति देखिएको छ,’ उनले भने, ‘उसबाट अदालत, कानुनप्रतिको निष्ठा कति झल्किन्छ?’
संसद विघटनको भोक नमेटिएको पाइएकाले यो संसद पनि असुरक्षित बनेको स्थिति देखिएकाले यो विषयमा जनताको पक्षमा गम्भीर भएर उभिनु जरुरी रहेको उनले बताए।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










