Kathmandu Press

‘गणतन्त्र पक्षधरबाटै गणतन्त्र खतरामा पर्‍याे’

‘गणतन्त्र पक्षधरबाटै गणतन्त्र खतरामा पर्‍याे’

काठमाडौं, फागुन २ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले गणतन्त्र पक्षधरबाटै गणतन्त्र खतरामा परेको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष केसीले एमाले केन्द्रीय समिति सदस्य दुर्गा प्रसाईँको पछिल्लो अभियानप्रति इंगित गर्दै सत्ताधारी दलबाटै गणतन्त्रमाथि खतरा उत्पन्न भएको बताएका हुन् । 

‘केहीदिन पहिले सत्ताधारी दलकै केन्द्रीय समितिको सदस्यको नेतृत्वमा झापामा जुन दृश्य देखियो । गणतन्त्रको विरुद्धमा चलेको अभियानले गणतन्त्रमाथि मडारिएको कालो बादल यहाँहरु सबैले देख्नुभयो नि,’ उनले भने । उनले त्यसबारेमा सदनमा कुरा नउठ्नु दुःखद् रहेको बताए ।  

केसीले नेपालमा मुखले गणतन्त्र स्वीकार गरेपनि व्यवहारमा गणतन्त्र विरोधी गतिविधि चलिरहेकाले सजग रहनुपर्ने बताएका छन्। उनले गणतन्त्र स्थापनाका लागि जुन शक्तिले संघर्ष गर्यो त्यसले मात्रै गणतन्त्रको मर्म थाहा पाउने बताए । ‘देशको गणतन्त्रमाथि आक्रमण सुरु भइसकेको छ । खुलेआम गणतन्त्रको विरुद्धमा अभियान चल्न सुरु गरेको छ,’ उनले भने।   

उनले गणतन्त्र कसैको निगहा र आशिर्वादले प्राप्त भएको नभई लामो समयसम्मको संघर्षबाट प्राप्त भएको बताए । ‘६०÷६५ वर्ष लगातार गणतन्त्र र लोकतन्त्रको पक्षमा लड्यौं । गणतन्त्र पक्षधरहरुको बीचको सत्ता र शक्तिको लुछाचुँडिबाट गणतन्त्र नै खतरामा पर्ने दृश्य देखिएको छ, यसमा हामी सजग रहनुपर्छ,’ उनले भने ।   
 

प्रकाशित मिति: १४:१८ बजे, बुधबार, फागुन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्