आफू अनुकुल राष्ट्रपति बनाउन छिमेकी मुलुकको चलखेल देखियो : केसी
‘छिमेकका कर्मचारी आउँदा नेपालका राष्ट्रप्रमुख, सरकार प्रमुख, विभिन्न तहका मानिसहरु, आफूलाई जान्नेसुन्ने, देशको स्वाभिमानका पक्षमा मन्टो हल्लाउँदै हिड्नेले किन विदेशीहरुका अगाडि लम्पसार परेको ?’
काठमाडौं, फागुन ३ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा राष्ट्रपतिको निर्वाचन नजिँकिँदै गर्दा भारतले चलखेल सुरु भएको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष केसीले छिमेकी मुलुकका कर्मचारी आउँदासमेत नेपालका राष्ट्रप्रमुख, सरकारप्रमुख र विभिन्न उच्च तहका व्यक्तिहरु लम्पसार पर्नुले राष्ट्रपति निर्वाचनमा छिमेकी देशको चलखेल प्रष्ट देखिएको उनले बताए।
‘नेपालबाट पूर्वप्रधानमन्त्रीहरु र जिम्मेवार मन्त्रीहरु जाँदा भारतीय शासकहरुलाई भेट्नै सक्दैनन्। उहाँहरु निराश भएर फर्कनुपर्छ,’ उनले भने,‘तर, छिमेकका कर्मचारी आउँदा नेपालका राष्ट्रप्रमुख, सरकार प्रमुख, विभिन्न तहका मानिसहरु, आफूलाई जान्नेसुन्ने, देशको स्वाभिमानका पक्षमा मन्टो हल्लाउँदै हिड्नेले किन विदेशीहरुका अगाडि लम्पसार परेको ? राष्ट्रिय स्वाभिमानको पक्षमा उहाँहरुलाई अलिकति लाज पनि लाग्दैन ?’
यस्तो प्रवृत्तिले नेपालको स्वाभिमान, राष्ट्रियता र सार्वभौम अखण्डतामा दखल पुगेको केसीले बताए । शक्ति राष्ट्रहरुले यसअघि राष्ट्रपति र प्रधानमन्त्री आफू अनुकुलका व्यक्तिलाई बनाउन अप्रत्यक्ष रुपमा चलखेल गर्ने भएपनि अहिले प्रत्यक्ष रुपमा हस्तक्षेप हुन थालेको उनले बताए। ‘हामीलाई लाज लाग्दैन ? विदेशी शक्तिराष्ट्रका मान्छेहरु आउँदा लम्पसार परेर उनीहरुको आशिर्वादबाट आफ्नो दुनो सम्झाउने काम गरिरहेको छौं , यसले राष्ट्रको स्वाभिमान, इज्जत र राष्ट्रको सार्वभौमतामाथि खलल पारिरहेको छ,’ उनले भने ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










