गोंगबु घटनाबारे संसदमा प्रश्न उठ्यो, यथाशिघ्र गृहमन्त्री नियुक्त गर्न माग
‘देशमा गृहमन्त्रालयको संयन्त्र छ तर गृहमन्त्री किन खाली ? प्रधानमन्त्री नै सबै मन्त्री हुने भए अरु मन्त्रालय किन बनाएको ? : ज्ञानेन्द्र शाही
काठमाडौं, फागुन १ : सोमबार गोंगबुमा भएको लुटपाटको घटना संसदमा उठेको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले आन्दोलनको आवरणमा भएको दंगा र लुटपाटबारे सरकारसाग प्रश्न गरेका हुन् ।
नेकपा एमालेका सांसद सूर्य थापाले गोंगबु क्षेत्रमा भएको आगजनी र लुटपाटको घटनाबारे संसदमा जानकारी गराउन माग गरे । यस्तो घटनामा सदन बेखबर हुन नमिल्ने भन्दै थापाले भने,‘गोंगबु क्षेत्रमा भएको आगजनी र लुटपाटबारे के भएको हो भन्ने कुराको जानकारी गराउन गृहमन्त्रीलाई यो सदनमा घटनाको विवरण जानकारी गराउन माग गर्दछु ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले गोंगबु क्षेत्रमा भएको आगजनी र लुटपाटको घटनाले सरकार नभएको आभास गराएको बताए । उनले यस्तो घटना हुँदा पनि प्रहरी मुकदर्शक बनेर बसेको आग्रह गरे ।
‘यो देशमा सरकार छ कि छैन ? सरकार छ भने प्रधानमन्त्री निवासभन्दा जम्मा तीन किलोमिटर लुटपाट हुन्छ । प्रहरी निकम्मा भएर हेरिरहेको छ । यदी सरकार छ भने दिनदहाडै लुटपाट हुन्छ, सरकार छ भने करोडौं लगानी गरेका व्यवसायी किन डुब्दैछ । यदी सरकार छ भने हामीले मजदुरका लागि किन ऐन बनाउदैनौं? यदी सरकार छ भने हामीले मजदुरका लागि किन ऐन बनाउँदैनौं ? प्रहरीलाई निकम्मा बनाउने को हो ?,’ उनले प्रश्न गरे ।
उनले गृहमन्त्री तत्काल नियुक्त गर्न पनि माग गरेका छन् । ‘देशमा गृहमन्त्रालयको संयन्त्र छ तर गृहमन्त्री किन खाली ? प्रधानमन्त्री नै सबै मन्त्री हुने भए अरु मन्त्रालय किन बनाएको ? सबका सब प्रधानमन्त्रीलाई मन्त्रालय दिएर खाली गरे भइहाल्यो नि । देशमा लुटतन्त्र हाबी भएको छ । लोकतन्त्रका नाममा लुटतन्त्र गर्न पाइँदैन। तीनलाई तत्काल कारबाही गरियोस् र गृहमन्त्री तत्काल नियुक्ती गरियोस्,’ उनले भने ।











