Kathmandu Press

महाभियोग लगाउने र टुंगो नलगाई राख्नु विधिहीनताको पराकाष्टा हो : कांग्रेस सांसद केसी 

महाभियोग लगाउने र टुंगो नलगाई राख्नु विधिहीनताको पराकाष्टा हो : कांग्रेस सांसद केसी 

काठमाडौं, फागुन ३ : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग टुंगा नलगाउनु विधिहीनताको पराकाष्टा रहेको टिप्पणी गरेका छन् । 

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले चोलेन्द्र शमशेरविरुद्ध महाभियोग टुंगो नलागाइएप्रति प्रश्न उठाएका हुन् । यसले संविधानवादको उपहास भएको उनले बताए ।  

केसीले विधिशास्त्रअनुसार ढिलो न्याय दिनु न्याय नदिनुसरह रहेको बताए। संविधान र प्रतिनिधि सभा नियमावलीमा अघिल्लो सदनमा नटुंगिएको विषयका बारेमा केही नबोलेको अवस्थामा नजिर र अन्तर्राष्ट्रिय परम्परालाई टेक्न सकिने समेत उनले बताए ।  

‘कानुनले दिनुपर्ने अन्तिम निर्णय नदिएर यस किसिमले तरबार झुण्ड्याएर राख्ने, निर्णयविहीनता हुनु विधिविहीनताको पराकाष्टा हो । संविधानवादको उपहास हो,’ उनले भने । 

उनले संघीय संसदका महासचिव भरतराज गौतमले प्रतिनिधि सभाको अघिल्लो कार्यकाल सकिएको भन्दै जबरालाई उनीविरुद्धको महाभियोग निष्प्रभावी भएको पत्र दिएका थिए । यसविरुद्ध परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिँदै पत्र कार्यान्वयन नगर्न भनेको थियो ।

नेता केसीले नयाँ संसदको दुई महिना बितिसक्दा पनि यसबारेमा छलफल नहुनु दुःखद रहेको बताएका छन् ।  प्रतिनिधि सभामा जबराविरुद्ध १ फागुन ०७८ मा महाभियोग दर्ता भएको थियो । महाअभियोग टुंगो नलागी जबरा निलम्बनकै अवस्थामा अवकाश पाइसकेका छन् ।

प्रकाशित मिति: १२:३० बजे, बुधबार, फागुन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्