कुशल र रोहित चम्किँदा नामिबियामाथि नेपालको कीर्तिमानी जित
नेपालले पहिलोपटक यति फराकिलो लक्ष्य पूरा गरेको हो । यसअघि सन् २०१९ को अन्तर्राष्ट्रिय एकदिवसीयमा युएईले दिएको २५५ रनको लक्ष्य पूरा गरेको थियो ।
काठमाडौं, फागुन २ : आइसीसी विश्वकप लिग टु अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले सानदार जित निकालेको छ ।
कीर्तिपुरमा मंगलबार भएको खेलमा नामिबियाले दिएको २८६ रनको फराकिलो लक्ष्य नेपालले ४७ ओभर चौथो बलमा ८ विकेटको क्षतिमा पूरा गरेको गर्दै ऐतिहासिक जित दर्ता गरेको हो ।
नेपालले पहिलोपटि यति फराकिलो लक्ष्य पूरा गरेको हो । यसअघि सन् २०१९ को अन्तर्राष्ट्रिय एकदिवसीयमा युएईले दिएको २५५ रनको लक्ष्य पूरा गरेको थियो ।
आजकै खेलमा नेपालका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा आफ्नो पहिलो शतक पूरा गरे । ११३ बल खेलेका कुशलले दस चौका र ४ छक्का प्रहार गर्दै ११५ रन बनाए।
कप्तान रोहितकुमार पौडेलले पनि आजको खेलमा उत्कृष्ट ब्याटिङ गरे । उनले ७६ बलमा ७ चौका र ३ छक्कासहित ७२ रन बनाएर अर्धशतक कटाए ।
अन्य ब्याट्सम्यानहरु ज्ञानेन्द्र मल्लले २५ रन, सन्दीप जोराले २८ र करण केसीले अविजित २० रन बनाउँदा कुशल मल्ल र दिपेन्द्र सिंह ऐरिले क्रमश ६ र ७ रनमात्रै बनाएर । ओपनर आशिफ शेख शून्य रनमै आउट भए ।
बलिङतर्फ नामिबियाका रुबेन ट्रम्पेलम्यान र जान निकोल लफ्टी इटोनले तीन÷तीन विकेट लिए भने बर्नार्ड स्कल्ज र टांगेनी लुङ्गामेनीले एकएक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले पूरा ओभर खेल्दै २८५ रनको योगफल तयार पारेको थियो ।
नामिबियाका लागि भान लिंगेनले शतकीय पारी खेले । उनले १३७ बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै १३३ रन बनाए ।
कप्तान एरासमसले अर्धशतकीय पारी खेले । उनले ७९ बलमा २ चौकार ३ छक्का प्रहार गर्दै ५६ रन बनाए । त्यस्तै जान ग्रीनले ३४, जान फ्रांकलिनले १३ र जान निकोल लोफ्टी एटोनले ८ रन बनाउँदा पिक्की या फ्रान्स २ रनमा आउट भए ।
नेपालका लागि करण केसीले सर्वाधिक ५ विकेट लिए । दस ओभर बलिङ गरेका उनले एक मेडन राख्दै ६१ रन खर्चिए ।
त्यस्तै सन्दीप लामिछानेले ३ विकेट लिँदा ६६ रन खर्चिए भने सोमपाल कामी र कुशल मल्लले समान एकएक विकेट लिए ।











