Kathmandu Press

‘मसानघाटमा पुगेको सामन्ती प्रेतलाई फेरि ब्युँताउने प्रयत्न भइरहेको छ’

मसानघाटमा पुगेको प्रेतलाई ब्यँताउने प्रयास किमार्थ सफल हुन सक्दैन । लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्ने पहरेदारका रुपमा हामी उभिन्छौं : महासचिव पाेखरेल
‘मसानघाटमा पुगेको सामन्ती प्रेतलाई फेरि ब्युँताउने प्रयत्न भइरहेको छ’

काठमाडौं, फागुन २ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले मसानघाटमा पुगेको सामन्ती प्रेतलाई फेरि ब्युँताउने प्रयत्न भइरहेको बताएका छन् । एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकमा विभिन्न चुनौतीहरु देखा परेको र त्यसलाई चिर्ने अनेरास्ववियुले लिनुपर्ने बताएका छन् ।   

‘मसानघाटमा पुगेको प्रेतलाई ब्यँताउने प्रयास किमार्थ सफल हुन सक्दैन । लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्ने पहरेदारका रुपमा हामी उभिन्छौं । यो मुलुकमा अराजकता सिर्जना गर्ने प्रयासका विरुद्ध मोर्चामा रहनेछ । हरेक प्रकारका अराजकतालाई सामना गर्न हामी अगाडि बढ्नेछौं,’ उनले भने । 

महासविच पोखरेलले मुलुकमा संकट देखापर्दा नागरिक समाज कहिल्यै सडकमा नदेखिएकोमा पनि असन्तुष्टि जनाए । ‘तर जतिबेला देश र जनताका हितका पक्षमा, परिवर्तनको पक्षमा काम गर्ने पार्टीका रुपमा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने गर्छ, कथित नागरिक समाज सडकमा तमासा देखाउन आइपुग्छ,’ उनले भने । 

उनले त्यस्तो अवस्थामा अनेरास्ववियु सडकमा आउनुपर्ने बताए । ‘यथास्थितीवादका पक्षमा रहेका यसप्रकारका नागरिक समाजका अगुवाहरु जसले समाजको परिवर्तन र विकासलाई रोक्नका लागि भूमिका निर्वाह गर्नेगर्छन् त्यसका विरुद्ध वैचारिक राजनीतिक रुपमा खडा हुन सक्ने अनेरास्ववियु आजको आवश्यकता हो,’ उनले भने । 

महासचिव पोखरेलले धर्मान्तरणको माध्यमबाट नेपालको संस्कृतिमाथि प्रहार हुन थालेकोमा पनि चिन्त व्यक्ति गरे । त्यसका विरुद्ध पनि अनेरास्ववियु सशक्त ढंगले उत्रिनुपर्ने बताए । 

नेपालमा राजनीतिक अस्थितरता सिर्जना गरी मुलुकलाई कमजोर बनाउने षड्यन्त्र एमालेले चिरेको बताए । उनले पाँच दलीय गठबन्धनलाई भत्काएर एमालेको पहलमा नयाँ सरकार बनेपछि जनतामा आशाको सञ्चार भएपनि फेरि संकटमा पुर्याउने चलखेर भइरहेको बताउँदै त्यसमा सचेत रहेर षड्यन्त्र चिर्नुपर्ने आजको आवश्यकता रहेको बताए । 
 
 

प्रकाशित मिति: १६:०२ बजे, मंगलबार, फागुन २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्