महाभियोगलाई नयाँ संसदमा सार्ने सहमति, सर्तसहितको नियमावली बनाइने
प्रतिनिधि सभामा दर्ता भएको महाअभियोगको प्रस्ताव टुंगो नलागी संसदको कार्यकाल सकिएमा नयाँ आउने प्रतिनिधिसभामा लैजाने बिषयमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिमा सहमति जुटेको छ ।
काठमाडौंं, फागुन २ : प्रतिनिधि सभामा दर्ता भएको महाअभियोगको प्रस्ताव टुंगो नलागी संसदको कार्यकाल सकिएमा नयाँ आउने प्रतिनिधिसभामा लैजाने बिषयमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिमा सहमति जुटेको छ ।
मंगलबार प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिमा यस्तो सहमती जुटेको हो । सहमती अनुसार यदी संसदको कार्यकाल पाँच महिना भन्दा कम बाँकी रहेको अवस्थामा महाअभियोग प्रस्ताव दर्ता भएमा निर्वाचनपछि गठन हुने प्रतिनिधिसभामा पेस गर्न नियमावलीले बाटो खुलाउने छ ।
नियमावली बनेपछि अघिल्लो संसदले टुंग्याउन नसकेमा महाअभियोग प्रस्ताव नयाँ संसदमा जिम्मेवारी सर्ने छ । तर यो नियमावली भविष्यमा लाग्ने महाभियोगका सन्दर्भमा मात्र आकर्षित हुने छ । नियमावली मस्यौदा समितिले गरेको निर्णयले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको महाभियोग प्रकरणमा भने अहिलेकै संसदले निर्णय लिने छ ।











