आन्दोलनको आवरणमा लुटपाट र दंगा मच्चाउने एक दर्जन व्यक्ति समातिए
गोंगवु र माछापोखरी क्षेत्रमा लुटपाट र दंगा मच्चाउने कार्यमा संलग्नताको आरोपमा १२ जना यातायात व्यवसायी, मजदुुरसहित केही शंकास्पद व्यक्ति समातिएका छन् ।
काठमाडौं, फागुन २ : गोंगवु र माछापोखरी क्षेत्रमा लुटपाट र दंगा मच्चाउने कार्यमा संलग्नताको आरोपमा १२ जना शंकास्पद व्यक्ति समातिएका छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका एक सुरक्षा अधिकारीले जनाए अनुसार आइतवार लोत्से मलमा लुटपाट गर्ने, आगजनी र तोडफोडमा संलग्न १२ जनालाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ ।
पक्राउ व्यक्तिमाथि अनुसन्धान अघि बढाउन थुनामा राख्ने अनुमती (थुना म्याद) का लागि मंगलवार जिल्ला अदालत काठमाडौंमा लगिँदै छ । प्रहरी अधिकारीका अनुसार अनुसन्धानपछि अपराधको प्रकृति अनुसार फौजदारी कसुर अन्तर्गत आगजनी, लुटपाट, कुटपिट र तोडफोडमा मुद्दा चलाइने भएको छ ।
पक्राउ परेका १२ जना बाहेक अराजकता फैलाउने अन्य व्यक्तिको पहिचान गरी पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको छ । आन्दोलनका नाममा उदण्ड समूहले प्रहरीको दुईवटा भ्यान समेत जलाएको थियो । यस्तै दुईवटा प्रहरी पोष्टमा ढुंगामुढा गरी क्षति पुर्याएका थिए ।
ढुंगामुढाका कारण प्रहरी समेत घाइते भएका छन् । गोंगबु क्षेत्रमा सोमबार भएको झडप, आगजनी र तोडफोडको घटनापछि प्रहरी वृत्त बालाजुका डीएसपी रविन विष्टलाई जिम्मेवारीबाट हटाएर उपत्यका प्रहरी कार्यालयमा फिर्ता बोलाइएको छ । विष्टको ठाउँमा प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरलाई पठाइएको छ ।











