Kathmandu Press

काठमाडौं उपत्यकामा बिहानैदेखि सार्वजनिक सवारी ठप्प

नेपाल यातायात मजदुर संघले सोमबार एक विज्ञप्ति जारी गरेर मंगलबारदेखि उपत्यकाको सवारीसाधन ठप्प पार्ने निर्णय गरेसँगै आज काठमाडौं उपत्यका भित्र कुनै पनि सार्वजनिक सवारी नचलेका हुन्।
काठमाडौं उपत्यकामा बिहानैदेखि सार्वजनिक सवारी ठप्प

काठमाडौं, फाल्गुन २ : काठमाडौं उपत्यकाभित्र मंगलबार बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन्। 

नेपाल यातायात मजदुर संघले सोमबार एक विज्ञप्ति जारी गरेर मंगलबारदेखि उपत्यकाको सवारीसाधन ठप्प पार्ने निर्णय गरेसँगै आज काठमाडौं उपत्यका भित्र कुनै पनि सार्वजनिक सवारी नचलेका हुन्।

उपत्यका बाहिर जाने लामो दुरीका सवारी साधन भने फाट्टफुट्ट चलेका छन्। नयाँ बसपार्क, कोटेश्वर, कलंकीलगायत बस काउन्टरहरू बन्द छ। अहिले चोक चोकमा बाक्लो संख्यामा प्रहरी खटिएका छन्।

सार्वजनिक सवारी साधन नचल्दा यात्रु मारमा परेका छन्। निजी सवारी साधन भने निर्वाध रूपमा सञ्चालनमा रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

सोमबार बालाजु बसपार्क क्षेत्रमा ट्राफिक नियमविरुद्ध मजदुरहरू आन्दोलनमा उत्रिएका थिए। 

आन्दोलनका क्रममा उनीहरूले दुइटा प्रहरी भ्यान, प्रहरी बिट जलाएका थिए भने ट्राफिक आइल्यान्ड भत्काएका थिए। प्रहरीमाथि ढुंगामुढा पनि गरेका थिए। त्यस्तै उनीहरूले बालाजुमा रहेको ल्होत्से मलमा पनि ढुंगामुढा गरी तोडफोड गरेका थिए।

यातायात मजदुरहरूले १० बुँदे माग अघि सारेर गत माघ १७ गतेदेखि नै आन्दोलन गर्ने चेतावनी दिँदै आएका थिए। आफ्ना माग पूरा नभए फागुन ३ गतेदेखि देशभरको सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी उनीहरूको थियो।

प्रकाशित मिति: ०८:१२ बजे, मंगलबार, फागुन २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्