यातायात मजदुरको आन्दोलन : ल्हाेत्से मलमा तोडफोड, करोडौँको क्षति
लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले तोडफोड तथा लुटपाटबाट करोडौँको क्षति भएको बताए।
काठमाडौं, फागुन १ : काठमाडौँको नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड भएको छ । सवारीसाधन कारबाही गरेबापत ट्राफिक प्रहरीले लिने शुल्क बढाएको भन्दै आक्रोशित यातायात मजदुरले आज साँझ काठमाडौँको नयाँ बसपार्कमा सञ्चालित लोत्से मलमा तोडफोड गरेका छन् ।
सवारी जरिवानाबापत ट्राफिक प्रहरीले लिँदै आएको चर्को शुल्क खारेज गर्नुपर्ने, निलम्बित लाइसेन्स फुकुवा गर्नुपर्ने, भौतिक पूर्वाधार पार्किङ पिक एन्ड ड्रपको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेर आन्दोलन गरेका मजदुरले लोत्से मलमा तोडफोड गरेका हुन् ।
उक्त समूहले लोत्से मल तोडफोड गर्नाका साथै त्यहाँ सञ्चालित पसलबाट मोबाइलसमेत चोरी गरेको बताइएको छ। लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले नयाँ बसपार्कदेखि गोँगबुचोकसम्म सडकमा बसेर कमाउन लागेका बस तथा माइक्रोबस व्यवसायीले नयाँ बसपार्कभित्र छिर्नप¥यो भनेर रिसमा लोत्से मलभित्र तोडफोड गरेको बताए।
उनले लोत्सेमा आज भएको तोडफोड तथा लुटपाटबाट लोत्सेलाई करोडौँको क्षति भएको बताए।
मजदुर र व्यवसायीको आन्दोलनले साँझपख उग्ररूप लिँदा प्रहरीमाथि ढुङ्गा प्रहार गर्नेदेखि प्रहरीको गाडी आगजानी गर्नेसम्मका कार्य गरिएको थियो ।
आन्दोलनकारीले बालाजु चोकमा रहेको अस्थायी प्रहरी बिटमा आगो लगाउनाका साथै प्रहरीको दुईवटा भ्यानमा समेत आगो लगाएका थिए । आन्दोलनका क्रममा १० प्रहरी कर्मचारी घाइते भएका छन् भने आन्दोलनकारीसमेत घाइते भएको बताइएको छ।











