बालाजु–माछापोखरी क्षेत्र तनावग्रस्त, आन्दोलनकारीले जलाए प्रहरीको भ्यान
सोमबार बिहानदेखि सवारी साधनलाई सडकमा तेर्स्याएर आन्दोलन गरेका आन्दोलनकारीमाथि प्रहरीले हस्तक्षेप गरेपछि स्थिती उग्र बनेको हो।
काठमाडाैं, फागुन १ : ट्राफिक जरिवानाको विषयलाई लिएर सुरु भएको आन्दोलनले उग्ररुप लिँदा काठमाडौंको बालाजु–माछापोखरी क्षेत्र तनावग्रस्त बनेको छ ।
सोमबार बिहानैदेखि सवारी साधनलाई सडकमा तेर्स्याएर आन्दोलन गरेका आन्दोलनकारीमाथि प्रहरीले हस्तक्षेप गरेपछि स्थिती उग्र बनेको हो । सोमबार साँझ तीन यातायात मजदुर संगठनले जारी गरेको संयुक्त विज्ञप्तिमा आफूहरुको शान्तिपूर्ण आन्दोलनमा नयाँ बसपार्कको ठेकेदार कम्पनी ल्होत्से बहुउद्धेश्यीय कम्पनीका व्यक्तिहरुले आक्रमण गरेको उल्लेख छ ।
आक्रमणकारीलाई रोक्नुपर्ने प्रहरीले आफूहरुमाथि नै बल प्रयोग गरेको भन्दै माछापोखरी चोकमा आन्दोलनकारीहरुले प्रहरीको भ्यानमाथि आगजनी गरेका छन् । उनीहरुले प्रहरीको अस्थायी पोष्टसमेत भत्काइदिएका छन् ।
मुल सडकमै प्रहरीको दुई वटा भ्यानमा आगलागी हुँदा घटनास्थलमा प्रहरी भने देखिएका छैनन् ।











