तत्काल सरकारमा नजाने रास्वपाको निर्णय
सोमबार बसेको संसदीय दल र केन्द्रीय समितिको बैठकले यथास्थितिमै सरकारमा नजाने निर्णय गरेको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
काठमाडौं, फागुन १ : राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा नजाने निर्णय गरेको छ ।
सोमबार बसेको केन्द्रीय समितिको बैठकले यथास्थितिमै सरकारमा नजाने निर्णय गरेको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए। उनका अनुसार पूर्वसहमतिअनुसार गृहमन्त्री पाएको अवस्थामा मात्रै सरकारमा जाने निर्णय बैठकले गरेको हो ।
बैठकले चितनव–२ मा घोषणा भएको उपनिर्वाचनको स्वागत गर्दै चुनावमा जान तयार रहेको निर्णय गरेको छ । आजको बैठकले चितवन–२ को उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भने नगरकोे बताइएको छ । औपचारिक निर्णय नभएपनि चितवन–२ बाट रास्वपाका सभापति रवि लामिछाने नै उम्मेदवार बन्नेमा विवाद नरहेको बताइएको छ ।
रास्वपाले सरकारलाई दिएको समर्थन कायम राखेर आफ्नो मन्त्री फिर्ता बोलाएको थियो । रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्चले उनको नागरिकता अवैधानिक रहेको ठहर गरेपछि उनी गृहमन्त्रीबाट पदमुक्त भएका थिए ।
रास्वपाले चितवन–२ मा चाँडो निर्वाचन गर्नेगरि मिति घोषणा गर्न सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा माग गरेको थियो । संयन्त्रले रास्वपालाई सरकारमा आउन आग्रह गरेको थियो ।











