भोलिदेखि उपत्यकामा सार्वजनिक यातायात नचलाउने यातायात व्यवसायीको घोषणा (विज्ञप्तिसहित)
ट्राफिक नियमविरुद्ध सोमबार दिउँसोदेखि आन्दोलन गरिरहेका यातायात मजदुरहरुले साँझ विज्ञप्ति जारी गर्दै भोलिदेखि उपत्यकामा सवारी साधन नचलाउने घोषणा गरेका हुन् ।
काठमाडौं, फागुन २ : यातायात मजदुरहरुले फागुन २ गते (भोलि) देखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् ।
ट्राफिक नियमविरुद्ध सोमबार दिउँसोदेखि आन्दोलन गरिरहेका यातायात मजदुरहरुले साँझ विज्ञप्ति जारी गर्दै भोलिदेखि उपत्यकामा सवारी साधन नचलाउने घोषणा गरेका हुन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसीले संयुक्त विज्ञप्ति जारी गर्दै उपत्यकाभित्र भोलि यातायात नचलाउने घोषणा गरेका हुन् ।
विज्ञप्तिमा पूर्वनिर्धारित कार्यक्रमअनुसार सोमबार दिउँसो शान्तिपूर्ण ढंगले आन्दोलन गर्दा नयाँ बसपार्कको ठेकेदार कम्पनी ल्होत्से बहुउद्धेश्यीय प्रालिका महाप्रन्धक सुनिल कुँवर र कम्पनीका कर्मचारीहरु पंकज मल्ल, हिमाल कुँवर सहित अन्य अपरिचित ३० व्यक्तिको समूहले आक्रमण गरेको बताइएको छ ।
उनीहरुलै शान्तिपूर्ण आन्दोलनका लागि प्रयोग गरेको साउन्ड सिस्टम फुटाउनेदेखि मजदुर संगठनका नेतादेखि मजदुरमाथि आक्रमण गरी घाइते बनाएको आरोप लगाएका छन् । यस घटनाको भर्त्सना गर्दै तीन मजदुर संगठनले श्रमिकहरुमाथि आक्रमण गर्ने सबै आक्रमणकारीहरुलाई तत्काल प्रहरीले नियन्त्रणमा लिइ कारबाही गर्न माग गरेका छन् ।
उनीहरुले यसअघिका दस बुँदे मागहरु पूरा नभएसम्म उपत्यकाका सम्पूर्ण सवारीसाधनहरु भोलिदेखि बन्द हुने घोषणा गरेका छन् । उपत्यका बाहिरको हकमा अर्को निर्णय नभएसम्मका लागि पूर्वनिर्धारित कार्यक्रम यथावत् रुपमा सञ्चालन गर्न अपिल गरेका छन् ।
‘काठमाडौं उपत्यकाका यातायात श्रमिक, यातायात व्यवसायी तथा स्वरोजगार श्रमिकहरुलाई सोही अनुसार सम्पूर्ण यातायातका साधनहरु ठप्प पार्न आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।













