ज्ञानेन्द्र र पारसलाई राखेर दुर्गा प्रसाईँले सुरु गरे महाअभियान

काठमाडौं, फागुन १ : झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफ्नो नयाँ अभियान सुरु गरेका छन् ।
सोमबार काँकडभिट्टाको मेची पुलबाट पूर्वराजपरिवारका सदस्यलाई उपस्थित गराई प्रसाईँले राष्ट्र, राष्ट्रियता, धर्म र नागरिक बचाऔं महाअभियान सुरु गरेका हुन् ।
उक्त अभियानलाई पूर्वराजा ज्ञानेन्द्र शाहीले उद्घाटन गरेका हुन् । उद्घाटनमा पूर्वराजासहित उनका पुत्र पारसलगायत पूर्वराजपरिवारका सदस्यहरु सहभागी थिए ।
आजको कार्यक्रममा प्रसाईले राजनीतिक दलका नेताहरूलाई पनि निम्त्याएका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो निम्तो मान्न आउन उनको अपेक्षा थियो । तर, झापामै भए पनि ओली कार्यक्रममा सहभागी भएनन्।
प्रसाईंले यो अभियानलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउनका लागि महाअभियान भनेका छन्। प्रसाईंले मेचीदेखि महाकालीसम्म अभियान अवधिभर दुई लाख जनता कार्यक्रममा सहभागी गराइने दाबी गरेका छन्।











