वीरेन्द्रनगर तनावग्रस्त, प्रहरीद्वारा ४ राउण्ड अश्रुग्यास प्रहार
प्रहरीका अनुसार दिउँसो आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । झडपमा परी केही प्रहरी र पत्रकारसमेत घाइते भएको बताइएको छ । स्थितीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ४ राउन्ड अश्रु ग्याँस प्रहार गरेको छ ।
काठमाडौं, फागुन १ : बसको ठक्करबाट वृद्धाको मृत्यु भएपछि सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त बनेको छ ।
सोमबार बिहान बसको ठक्करबाट जाजरकोटकी नदी रावतको मृत्यु भएको थियो । घटनापछि मृतकका आफन्तहरुले बिहानैदेखि वीरेन्द्रनगरमा आन्दोलन गरिरहेका छन् ।
बिहानदेखि जारी आन्दोलनले दिउँसो उग्र रुप लिएको हो । मृतकका आफन्तले चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । आन्दोलनकारीलाई तितरवितर बनाउन २०० भन्दा बढी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दिउँसो आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । झडपमा परी केही प्रहरी र पत्रकारसमेत घाइते भएको बताइएको छ । स्थितीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ४ राउन्ड अश्रु ग्याँस प्रहार गरेको छ ।
सडकमा आन्दोलनले उग्र रुप लिँदै गर्दा मृतकका परिवार र पीडक पक्षबीच वार्ता चलिरहेको बताइएको छ । वार्ता भएपनि केही अराजक समूहले उग्रता मच्चाएका कारण अश्रुग्याँस प्रहार गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिए।